भोजपुर: भोजपुरमा प्रहरीले भरुवा बन्दुकसहित विभिन्न दुर्लभ बन्यजन्तुको अङ्ग र छाला उक घरमा लुकाइराखेको अवस्थामा फेला पारेको छ । विशेष सुराकीको आधारमा भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवे नेतृत्वको प्रहरी टोलीले भोजपुरको पश्चित टेम्केमैयुङ गाउँपालिका वडा नं. २ रुमलामा रहेको निरकुमार भुजेलको घरबाट ती सामान बरामद गरेको हो ।
भुजेलले चोरी शिकारी गरेर लुकाएर राखेको रेड पाण्डाको छाला १ थान, भालुको छाला १ थान, भालुको पञ्जा १ थान, निगाले बाघको छाला १ थान, मृगको छाला १ थान, भरुवा बन्दुक २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने ब्यारोल २ थान फेला परेको आज दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । त्यस्तै भरुवा बन्दुकमा प्रयोग गरिने ४ सय ग्राम बारुद पनि फेला पारिएको छ । हिजो विहान ७ बजे भुजेलको दुईवटा घरबाट ती सामान बरामद भएको डीएसपी थेवेले बताए ।
प्रहरीका अनुसार निज निरकुमार भुजेल भने केहि समयअघि वैदेशिक रोजगारीको सिलसिलामा वाहिर गएका छन् । बरामद हतियार तथा सामानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।