झापा / नेपाली नक्कली रुपैयाँसहित २ जना भारतीय नागरिक काँकरभिट्टाबाट पक्राउ परेका छन् ।
भारतको दार्जिलिङ जिल्ला पश्चिम बंगालको सिलिगुडी बस्ने वर्ष ४० को सतिस अग्रवाल र सोही ठाउँ बस्ने वर्ष २४ को हितेश अग्रवाललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी टोलीले पक्राउ गरेका हो ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापाका अनुसार मङ्गलबार साँझ नायब निरीक्षक ललनकुमार यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले मेचीनगर—६ काँकरभिट्टाबाट उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ ५० हजार बरामद गरेको थियो । १ हजार दरका ५० थान नोटमा एउटै नम्बरका दर्जनौँ नोट रहेकाले शंका लागी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सबै नोट नक्कली रहेको पुष्टि भएको थापाले बताए ।
दुवै जनालाई खोटा चलन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत झापामा उपस्थित गराइएको कार्यालयको मुद्दा शाखाले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका अग्रवालद्वयले आफूहरू निर्दाेष रहेको र व्यापारका क्रममा आफूलाई पनि कसैले नक्कली पैसा दिएको बयान प्रहरीलाई दिएका छन् ।
उनीहरू दोषी प्रमाणित भए मुलुकी ऐन खोटा चलनको महल ४ अनुसार १० वर्षसम्म कैद हुने छ । तर, भदौ १ गतेदेखि नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि खोटा चलन अन्तर्गत ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।