इटहरीः मोरङको सुन्दरहरैंचामा रहेको पारिजात महिला बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी १ सय ९ औं नारी दिवस मनाएको छ ।
संस्थाकी अध्यक्ष दमयन्ती निरौलाका अनुसार अन्तरक्रिया कार्यक्रमका साथै हाँडी फुटाउने प्रतियोगिता, कुर्सी घुमाइ प्रतियोगिता, नृत्यलगायतका अन्य विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले गरेकी थिइन् ।
हाँडी फुटाउने प्रतियोगितामा जानुका ओझा पहिलो भएकी थिइन् । त्यस्तै, कुर्सी घुमाइमा गायत्रा फुयल पहिलो भएकी थिइन् ।
कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ६ का अध्यक्ष जीवन राई, वडा सदस्य टुनाकुमारी विश्वकर्मा, वडा नम्बर ८ की सदस्य उर्मिला रिजाललगायतले मन्तव्य राखेका थिए । विष्णु राईले स्वागत मन्तव्य राखेको कार्यक्रम दुर्गादेवी भट्टराईले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमअघि सुन्दरपुर चोकबाट निस्किएको र्याली तीनपैनी, गछिया हुँदै सुन्दरपुर पुगेको थियो ।
कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ६ की ज्येष्ठ नागरिक लीलादेवी घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वाञ्चल एकेडेमीका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।