विराटचोकः मोरङको बेलबारीबाट ९ दिनअघि हराएकी १ जना युवतीको उनकै प्रेमीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।  मोरङको बेलबारी–४ बाट गत फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी एक महिलाको उनकै प्रेमी योगेन्द्र गुरुङले हत्या गरी कोशी नदीमा फालेको खुलेको प्रहरीले जनाएको छ । २६ वर्षीया रमिला राई बेपत्ता भएपछि सोही घटनाको अनुसन्धानका लागि गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले इलामबाट पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा आफूले रमिलाको हत्या गरी कोेशी नदीमा शव फालेको गुरुङले स्वीकार गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उनको बयानका आधारमा २ दिनदेखि शव खोजे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
बेलबारी–४ बुधबारे निवासी ती महिला श्रीमान्सँग सम्वन्ध विच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन् । गुरुङका भने श्रीमती र छोरा काठमाडौंमा बस्दै आएको बताइएको छ । गुरुङ नेकपा एमाले बेलबारीका पूर्व अध्यक्ष, नोबेल अस्पताल सञ्चालक समिति बेलबारीका अध्यक्ष तथा एक साझेदारी वनका समेत अध्यक्ष हुन् ।

कसरी भयो घटना ?
फागुन १७ गते हराएकी युवती नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनाको एक सातापछि शुक्रबार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिनदेखि गुरुङसमेत बेलबारी छोडेर सम्पर्कविहीन भएपछि प्रहरी उनको पछि लागेको थियो । प्रहरीले शुक्रबार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार उनको घरबाटै नियन्त्रणमा लिएको छ ।
युवती हराएको रात उनीहरू सँगै रहेको र युवती घर नफर्किएपछि ती युवतीका माइतीले खोजीका लागि प्रहरी गुहारेको थियो । युवती हराएपछि गुरुङले नै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरी आफ्नी गर्लफ्रेन्ड हराएको भनी सूचना दिएका थिए ।

अनुसन्धान हुँदै जाँदा उनले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घटना भएको दिन योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरी रेष्टुरेन्टमा जाने भन्दै निस्किएका थिए । सो दिन उनीहरू विराटचोकमा रहेको हवाना रेष्टुरेण्टमा गएको खुलेको छ ।
राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई घरमै छाडिदिएर रमिलालाई भने गाडीमै लिएर गएका थिए ।

शुक्रबार निस्केकी रमिला शनिबार बिहान पनि नआएपछि माइती पक्षले खोजी गर्न थालेका थिए । रमिलाकी बहिनीले योगेन्द्रलाई फोन गरेर सोधेकी थिइन् । योगेन्द्रले राति साढे ११ बजेतिरै रमिलाको घर नजिकै छाडिदिएको जवाफ दिएका थिए ।

रमिला घर नआएको भनेर परिवारले फोन गरेपछि शनिबार बिहानै योगेन्द्र पनि रमिलाको माइतीघर गएका थिए । त्यस दिन योगेन्द्र ३ पटकसम्म रमिलाको माइतीघरमा गएको र केही पत्ता नलागेपछि योगेन्द्रकै सल्लाह अनुसार उनीसहित भएर प्रहरीमा हुलिया दिएका थिए । युवती हराएपछि योगेन्द्र आफैले पनि इप्रका बेलबारीका इन्स्पेक्टरलाई फोन गरेर ‘मेरी गर्लफ्रेण्ड हराइन्, तनाव भयो’ भनेका थिए ।
युवतीको माइती पक्षले योगेन्द्रले युवतीलाई घरमै बन्धक बनाएर राखेको शङ्का गरेपछि फागुन २० गते प्रहरीले बेलबारी–४ स्थित योगेन्द्रको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा केही नभेटिएपछि प्रहरी र आफन्त फर्किएका थिए ।

त्यसको भोलिपल्ट २१ गते मङ्गलबार दुवै पक्षबीच इलाका प्रहरी कार्यालय बेलबारीमा छलफलसमेत चलेको थियो । छलफलका क्रममा ३ दिनसम्म दुवै पक्षले युवतीको खोजतलास गर्ने सहमति बनेको थियो । ३ दिन बित्न नपाउँदै गुरुङ पनि सम्पर्कविहीन भएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली नै खटाएर गाउँलेसँग समन्वय गरेर मोरङको जङ्गल क्षेत्र र इटहरीको तालतलैया लगायतका क्षेत्रमा युवतीको खोजी गरेको थियो । घटनापछि काठमाडौं बस्दै आएकी गुरुङकी श्रीमती पनि बेलबारी आएकी थिइन् । तर, बुधबार दिउँसो योगेन्द्रले श्रीमतीलाई प्लेनमार्फत् विराटनगरबाट काठमाडांै पठाएका थिए ।

विराटनगर पुग्दासम्म चालु अवस्थामा रहेकोे नेपाल टेलिकमको पोस्टपेड मोबाइल नम्बरको योगेन्द्रले त्यसपछि स्वीच अफ गरेका थिए । त्यसपछि प्रहरी थप सशङ्कित बनेको थियो ।
गुरुङको भनाइ र सीसीटीभीको फुटेज नमिलेपछि गुरुङमाथि शङ्का
गुरुङले युवतीलाई फागुन १७ गते शुक्रबार राति साढे ११ बजे घरमै छोडिदिएको भनेर दाबी गरे पनि सोही दिन रातिका ‘सिसीटीभी फुटेज’ हेर्दा उनको भनाइ मेल खाँदैन । योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साढे १२ बजे इटहरीबाट पश्चिम लागेको र शनिबार बिहान साढे ४ बजे गोठगाउँबाट पूर्व लागेको देखिएको प्रहरीको भनाइ छ ।

योगेन्द्रले भनेको कुरा र गाडीको अवस्था हेर्दा नमिलेपछि उनीमाथि प्रहरीले विशेष टोली परिचालन गरेको थियो । त्यसपछि इलाममा उनी पक्राउ परेका थिए । उनको बयानका आधारमा शव खोजे पनि शव भने पत्ता नलागेको प्रहरीले जनाएको छ ।