बेलबारीः आफ्नै प्रेमिकाको हत्या गरी सप्तकोशीमा शव फालेको अभियोगमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङलाई ७ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

बेलबारी–४ की २६ वर्षीया रमिला राईको हत्यापछि सप्तकोशी नदीमा शव फ्याँकेको भनी उनले बयान दिएका छन् । महिलाको शवको खोजीमा प्रहरी जुटेको ४ दिन बितिसक्दा समेत शव भेटिएको छैन । प्रहरीले एक हप्ताको म्याद थप गरी शव खोज्ने बताएको छ ।

शुक्रबारदेखि लगातार शवको खोजीमा प्रहरी टोली सप्तकोशी र आसपासका स्थानमा सक्रिय रहे पनि शव फेला पार्न नसकिएपछि उनलाई महिला बेपत्ता पारेको अभियोगमा म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताएका छन् ।

फागुन १७ गते शुक्रबार राति गुरुङसँगै निस्केकी राई सोही रातबाट बेपत्ता भएकी थिइन् । गुरुङले हत्यापछि शव कोशी ब्यारेजमा पु¥याएर गेट नम्बर २९ बाट नदीमा फ्याँकेको भनी प्रहरीलाई बयान दिएका छन् । घरमै हत्या गरेर आफ्नो गाडीमा शव हालेर आफैँले शव खोलामा फालेको बयान उनले प्रहरीलाई दिएका थिए ।

हत्यापछि फरार रहेका गुरुङलाई प्रहरीले ४ दिन अघि इलामबाट पक्राउ गरेको थियो । स्थानीय बासिन्दासहित प्रहरीको गोताखोर टोलीले शव खोज्दासमेत फेला परेको छैन ।