धनकुटाः नाम नखुलेको जडिबुटी खानामा मिसाएर खाने क्रममा धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका वडा नम्बर ९ बेलहाराका ६२ वर्षीय माधव श्रेष्ठको मृत्यु भएको हो । सोमबार राती खानामा जडिबुटी मिलाएर खाएपछि बिरामी परेका श्रेष्ठलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । खाना खाइसकेपछि रिँगटा लाग्ने, बान्ता आउनेलगायतका लक्षण देखिएपछि गाउँलेले उपचारको लागि अस्पताल लगेको वडाध्यक्ष सन्दीप रायले बताए ।
सोही खाना खाँदा उनकै परिवारका अन्य ४ जना बिरामी परेका छन् । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । श्रेष्ठको परिवारले पाथीभरा दर्शन गर्न जाँदा सो जडिबुटी किनेर ल्याएको जनाएको छ ।