इटहर / सुनसरीको गढी गाउँपालिकाका स्थानीय सरकारका गतिविधिविरुद्ध नेकपा र संघीय समाजवादी फोरम आन्दोलित बनेका छन् । स्थानीय सरकार प्रमुखले मनोमानी गरेको भन्दै नगरको हित अनुकूल काम नगरेको उनीहरूको ठहर छ ।

बुुधबारदेखि धर्ना दिइरहेका स्थानीयले गाउँपालिका प्रमुखले व्यापक अनियमितता गरेको आरोप लगाएका छन् । बुुधबार २ घण्टा गाउँपालिकाको कार्यालयमा धर्ना दिएका उनीहरूले यो आन्दोलनलाई सशक्त बनाउने र गाउँपालिका प्रमुख सच्चिनुुपर्ने धारणा राखेका छन् । नेकपाका स्थानीय नेता प्रभाकर माझीले जनताका प्रतिनिधिले अधिकारको दुरुपयोग गर्दै अनियमितता गरेको आरोप लगाए ।

बुधबार पहिलो दिन गढी गाउँपालिकाको कार्यालय अगाडि सयौं सर्वसाधारण उतारेर २ पार्टीले गाउँपालिका अध्यक्षलाई सच्चिन आग्रह गरेका थिए । महिलाको उल्लेख्य सङ्ख्या रहेको धर्नामा कर्मचारी नियुक्तिदेखि शिक्षा, स्वास्थ्य र कृषिका कार्यक्रममा अध्यक्षले आर्थिक चलखेल गरी लक्षित वर्गलाई ती कार्यक्रमबाट वञ्चित गरेको आरोप लगाइएको छ ।

Gadhi gaupalika 1

गाउँपालिका प्रमुख श्रीप्रसाद यादवले राजनीतिक रिसिबीमात्र साँध्न खोजेको भन्दै हल्ला गरेअनुसार कुनै अधिकार दुरुपयोग नगरेको स्पष्ट पारे । उनले जनताले कुरा बुझिसकेको भन्दै जनताले जान्न चाहेको विषयलाई आफूले छर्लङ्ग बनाइदिएको बताए ।

अघिल्लो सालका बाढीपीडितलाई प्रदेश सरकारले पनि राहत दिन नसक्ने भन्दै सानो गाउँपालिकाको बजेटबाट प्रतिपक्षीले भनेअनुसार सुविधा दिन नसक्ने यादवले बताए । ‘उहाँहरूले ल्याउनुभएका कतिपय गुनासा सम्बोधन गर्न सकिने पनि छन्, त्यसैले आइतबार वार्ता गरेर समस्याको हल खोजौँ भनेको छु,’ अध्यक्ष यादवले भने ।