विराटनगरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेतृत्वको माओवादीलाई कारवाही गर्नुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले केहीबेर अघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मान्छे मार्ने र आतङ्क फैलाउनेलाई कारवाही हुनुपर्ने बताएका हुन् ।
उनलाई प्रतिबन्ध लगाउने मात्र नभएर सरकारले कारवाही नै गर्नुपर्छ भन्दै बम पड्काउनेलाई त्यसै छाड्न नहुने उनले बताए । आफ्नो पार्टीका कार्यकर्तामाथि पनि दुःख दिने काम भइरहेको भन्दै उनले विप्लव सम्बद्ध पार्टीको काम सही नभएको बताएका हुन । ‘जथाभावी बम पड्काउने र आक्रमण गर्ने छुट दिनु हुँदैन, सरकारले कडा निगरानी राख्नुपर्छ,’ उनले भने ।
उनले सिके राउत र सरकारबीच भएको सहमति मान्य नहुने बताए । देश टुक्र्याउने अभिव्यक्ति दिनेलाई सरकारले कानुनअनुसार कारवाही गर्नुपर्नेमा सरकारले उल्टै संरक्षण गर्न लागिपरेको उनको भनाइ थियो । विखण्डनको नारा लागिरहेको भन्दै सिके राउतले भनेअनुसारको जनमत सङ्ग्रह कुनै पनि हालतमा गर्न नहुने उनको तर्क थियो ।
उनले चर्चित वाइडबडी घोटालामा भने सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।