बेलबारीः रेडियोमा फोन नम्बर आदानप्रदान भएपछिको फोन सम्पर्कका कारण एक बालिका बलात्कृत भएकी छिन् । मोरङको उर्लाबारीकी १३ वर्षीया बालिका रेडियो कार्यक्रममा आफ्नो फोन नम्बर एक युवकलाई दिएकी थिइन् ।
पछि तिनै युवाले बालिकालाई आफ्नो घरमा बन्धक बनाएर बलात्कार गरेका छन् । मोरङको उर्लाबारी–३ थापा चोकका जेम्स क्षेत्री, रेगन तथा रेवतलगायतका नामले चिनिने २५ वर्षीय चन्द्रमणि आचार्यले एक बालिकालाई बन्धक बनाएर बलात्कार गरेको भनी पीडितले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । गत शनिबार उनी बलात्कृत भएको बताइएको छ ।
रेडियो कार्यक्रममार्फत् फोन नम्बर आदानप्रदान गरेका आचार्यले लेटाङ नगरपालिका घर भएकी १३ वर्षीया बालिकालाई शुक्रबार लेटाङ एक्स्पोमा बोलाएर त्यहीँ भेटेका थिए । सो दिन नै उनलाई घुम्न जाउँ भनेर आचार्यले भने पनि बालिकाले नमानेपछि उनी घर फर्किएका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख रामप्रसाद तिम्सिनाका अनुसार भेटघाट भएको भोलिपल्ट शनिबार आचार्यले फोन गरेर ‘गिफ्ट’ ल्याइदिएको छु भन्दै कानेपोखरीमा बोलाएको अनुसन्धानका क्रममा खुलेको छ । कानेपोखरीबाट आफ्नो मोटरसाइकलमा राखेर आचार्यले बालिकालाई आफ्नै घरमा पु¥याएको प्रहरीको अनुसन्धानबाट खुलेको तिम्सिनाले बताए ।
उर्लाबारीस्थित घरमै लगेर रातभर बलात्कार गरेको पीडितले बताएको प्रहरीको भनाइ छ । बलात्कारमा संलग्न आचार्य भागेर मोरङकै मिक्लाजुङ गाउँपालिकामा पुगेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितमा मानसिक समस्या
प्रहरीका अनुसार बलात्कारबाट पीडित भएकी बालिका मानसिक रूपमा विक्षिप्त बनेकी छिन् । जतिबेला पनि चिच्याउने, रुने र कराउने मात्रै गर्ने गरेको प्रहरीको भनाइ छ । पीडित बालिकाको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार गरिएको प्रहरीले जनाएको छ । मङ्गलबार पक्राउ परेका आचार्यविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम जबरजस्ती करणीको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।