विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षामा जनताको पहुँच पु¥याउन सुरक्षा निकायलाई साधन र स्रोतले बलियो बनाउनुपर्ने बताएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा प्रदेश नं १ प्रहरी कार्यालय भवनको शिलान्यास तथा सवारी साधन परिचालन शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
सुरक्षा निकायलाई समयसापेक्ष बनाउन प्रदेश सरकारले थप साधन र स्रोत उलब्ध गराउने उनले बताए । मुख्यमन्त्री राईले जनतालाई ‘प्रहरी हाम्रा साथी हुन्’ भन्न्े अनुभूति दिलाउन प्रहरी सङ्गठनलाई सुदृढ गर्दै लैजाने बताए । प्रदेशलाई अपराधमुक्त बनाउन प्रदेश सरकारले सङ्कल्प लिएको उनको भनाइ थियो ।
सभामुख प्रदीपकुमार भण्डारीले प्रहरी सङ्गठनलाई प्रदेश सरकारले आधुनिकीकरण र समयानुकूल बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले सडक सुरक्षा र यातायात व्यवस्थापनमा योजनाबद्ध रूपमा अघि बढिरहेको बताए । प्रदेशमा ६५ किमी सडकलाई सुरक्षित गर्ने कार्य प्रारम्भ भइसकेको उनको भनाइ थियो ।
उनले प्रदेश प्रहरीलाई बलियो बनाउन २ सय वटा मोटरसाइकल र १५ वटा पिकअप भ्यान उलब्ध गराइसकेको बताए । प्रदेशका १४ वटै जिल्लामा २ हजार विद्यालयमा दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्न सगरमाथा पिस क्लब गठन गरेको पनि उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अब कसैले पनि अनाहकमा प्रहरीले दुःख दिएको वा खराब आचरण देखाएको सुन्नु नपर्ने बताए । प्रहरीलाई दक्ष एवं सक्षम बनाउन प्रदेश सरकारले प्रहरी सङ्गठनमा दिएको योगदानको उनले सह्राना गरे ।
प्रदेश प्रहरी प्रमुख केदार रिजालले अपराध रोकथाम र शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकारको प्राथमिकतामा प्रदेश प्रहरी इमान्दारिताका साथ अघि बढ्ने विश्वास कार्यक्रममा दिलाएका थिए । निर्माण हुने प्रदेश प्रहरी भवन भूकम्प प्रतिरोधी, महिला तथा अशक्तमैत्री, प्रविधिमैत्री र सुविधा सम्पन्न हुने बताइएको छ । ५ तले सो भवन १८ कोठाको हुने रिजालले बताए ।
भवन बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।