ताप्लेजुङः जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट ९ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । फक्ताङलुङ गाउँपालिकाका ईखाबु, खेजेनिम र लिङ्खिम गाविसबाट ९ थाना भरुवा बन्दुक र एउटा भरुवा बन्दुककै नाल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
परम्परागत रूपमा र अवैधानिक तवरले लुकाइछिपाइ राखिएका हतियार सङ्कलन तथा खोजतलास गरी नियन्त्रणमा लिने अभियान अन्तर्गत १ महिनाको अवधिमा ती हतियार फेला पारी नियन्त्रणमा लिइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
बिहीबार पत्रकार सम्मेलन गरी हतियार सार्वजानिक गर्दै थापाले यस्ता हतियार नियन्त्रणमा लिने अभियान जारी रहेको बताए । पछिल्लो समयमा घरेलु हतियारका कारण आपराधिक घटनामा वृद्धि हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय तहसँग समन्वय गरी हतियार सङ्कलन गर्ने अभियान नै सञ्चालन भएको छ ।
स्थानीय तह र प्रहरीमार्फत् स्थानीयलाई सूचना गरी हतियार बुझाउन अनुरोध गरी सङ्कलन गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।