इटहरी । विषादी मिसिएकाे पानी पीएर बिरामी भइ उपचार गरेर घर फर्केका विद्यार्थी पुनः बिरामी परेका छन् । गत मंगलवार लेटाङ ९ स्थित जाँतकाे श्री उच्चमाविमा अध्ययनरत विद्यार्थी विषादी मिसिएकाे पानी पीउँदा बिरामी भएका थिए । बिरामी २९ जना मध्ये उर्लावारीकाे मंगलवारे अस्पतालमा उपचार गराएका २५ विद्यार्थी साेहि दिन घर फिरेका थिए ।
तर, केही बिद्यार्थीलाइ भने भाेलीपल्टै देखि समस्या अाएकाे प्रधानाध्यापक खेमराज दुलाले जानकारी दिए । बुधवार राती १२ बजे सृजना निराैलालाइ विराटनगर स्थित लाइफगार्ड अस्पतालमा भर्ना गरिएकाे । उनकाे अाज बिहान सम्म उपचार जारी छ । त्यस्तै हिजाे बिहिवार नाेवेल अस्पताल पुर्याइएका प्रतिमा लिम्बु र चेतन खड्कामध्ये लिम्बुकाे अस्पतालले डिस्चार्ज दिइसकेकाे छ भने खड्का उपचाररत छन् ।
प्रधानाध्यापक दुलालका अनुसार विद्यार्थीमा थप समस्या देखिएकाे थियाे । उपचार भएर घर फर्केका विद्यार्थीमा पुनः रिंगटा लाग्ने, खाना रूचि नहुने र वान्ता हुने जस्ता समस्या बल्झिएपछि तुरून्त अस्पताल लगिएकाे हाे ।
सिकिस्त ४ घर फर्किए
मंगलवारकाे विषादी प्रकरणमा गम्भिर बिरामी परेका ४ विद्यार्थी घर फर्केका छन् । बिरामी २९ मध्ये ४ लाइ मंगलवार नै थप उपचारका लागि विराटनगरकाे नाेवेल अस्पताल पुर्याइएकाे थियाे । उपचार पछि घर फर्किनेमा कमला लिम्बु, खुस्बु मिश्र, मनिष थापा र सृष्टि निराैला रहेका छन् ।