इटहरी/ प्रदेश १ मा पहिलो पटक मन्त्रालयले फेसबुक सूचना पार्टी बनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूचना पार्टी नाम राखिएको फेसबुकबाट मन्त्रालयजन्य जिज्ञासाको जवाफ दिइन्छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, उनका निकटतम सहयोगी रवि खनाललगायत मन्त्रालयका कर्मचारीले पत्रकारहरूले ग्रुपमा सोधेका सवालहरूको जवाफ दिन्छन् ।
पत्रकारहरूले पनि मन्त्रालयसँग जोडिएका वा प्रदेश १ को सामाजिक तथा सुरक्षाका विषयमा विभिन्न मिडियामा आएका समाचारको लिंक गु्रपमा सेयर गर्छन् । मन्त्रालयका विभिन्न कार्यक्रमहरूका बारेमा पनि ग्रुपमा जानकारी गरिन्छ ।
भदौ १ गते शुक्रबार विराटनगरको होटल एसियाटिकमा दिँउसो तीन बजे हुने मुलुकी ऐन संहिता र कार्यविधि नामक कार्यक्रमको सूचना गु्रपमा दिए सहयोगी रवि खनालले । कार्यक्रममा मुख्यमन्त्री, मुख्य न्यायाधीश, मुख्य न्यायाधिवक्ता लगायतका अन्य विशिष्ट व्यक्तिहरू उपस्थित हुने सहयोगी खनालले ग्रुपमा लेखे ।
खनालले जानकारी राख्नासाथ विराटनगरका पत्रकार सुमन सुस्केराले ‘मन्त्रीहरू काठमाडौंमा हैन’ भन्ने प्रश्न गरे । लगत्तै खनालले उत्तर दिए, ‘भोलिको कार्यक्रममा उपस्थिति रहने कुरा छ ।’ यसरी दैनिक कार्यक्रम र अन्य सूचनाहरूका बारेमा ग्रुपमा सहज संवाद हुन्छ । प्रदेश १ को पत्रकार महासंघका अध्यक्ष विक्रम लुइँटेलदेखि प्रदेश १ का विभिन्न मिडियामा कार्यरत ३ दर्जन बढी पत्रकारहरू मन्त्रालयको सूचना पाटीमा जोडिएका छन् ।
मन्त्रालयका कामहरू पारदर्शी र सहज सूचनाको पहुँचमा पुर्याउन यस्तो सूचना पाटी खोलिएको मन्त्रीका सहयोगी रवि खनाल बताउँछन् । उनी भन्छन्, ‘मन्त्रालय र मिडियामा अत्यावश्यक सूचना र संवादमा दुरी नराख्न र जनतामा जानुपर्ने सूचना पुर्याउन यसो गरिएको हो ।’