इटहरीः आज बिहान ११ बजे विराटनगर विमानस्थलमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूह, सिके राउत हुँदै मन्त्री हेरफेरसम्मका विषयमा बोलेका छन् ।

नेकपा महासचिव विष्णु पौडेल र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगै १५ मिनेट विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग बोलेका प्रधानमन्त्री ओलीले विप्लव, सिके राउत र मन्त्री हेरफेरका बारेमा आफ्नै भाषामा यस्तो बताएका छन्ः

– प्रतिबन्ध के मा भन्दा उनको पार्टी कहीँ दर्ता भएको थियो र ? उनको पार्टी नै कतै दर्ता भएको छैन । विप्लव समूहलाई भन्न चाहन्छु, सरकार कुनै ठट्टा गरिरहेको छैन । संविधान विपरीतका, विध्वंसका, लुटपाटका क्रियाकलाप गर्न पाइँदैन । कसैले रुवाबासी गरे पनि सरकारले निषेध मात्रै होइन नियन्त्रण पनि गर्छ ।

– विखण्डनवाद, विखन्डवादी, सोच, विचार, सङ्गठन र व्यवहार नेपालमा थियो । त्यो समाप्त भयो । त्यो समाप्त भएकोमा रुवाबासी गर्नेहरू, छाती पिट्नेहरूका उद्देश्यहरू तपाईं बुझ्न सक्नुहुन्छ ।

– मन्त्रिपरिषद् हेरफेरको कुनै योजना छैन । पर्यटन मन्त्रालय खाली छ । अपूर्ण मन्त्रालयलाई पूर्ण बनाउने काम उपयुक्त समयमा हुनेछ ।