विराटनगर/ नेपालमा अपराधसंहिता लागु भएको पहिलो दिन नै मोरङका एक युवाले प्रेमिकाको हत्या गरेका छन् । हत्यापछि पक्राउ परेका ती युवाले बताएअनुसार उनले डेटिङमा बोलाएर योजनाबद्ध ढङ्गले प्रेमिकाको हत्या गरेका हुन् ।
प्रेमिकाले आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै मोरङको ग्रामथान–५ तेतरियाका ३० वर्षीय दिनेश भट्टराईले २३ वर्षीया सीता घिमिरेको हत्या गरेका हुन् ।
घटनाअनुसार शुक्रबार बिहान दुवै जना एउटै स्कुटरमा घुम्न निस्किएका थिए । एकान्त ठाउँमा कुराकानी गर्ने क्रममा भट्टराईले चक्कु प्रहार गरी घिमिरेको हत्या गरेका थिए । हत्यापछि भाग्ने क्रममा स्थानीयले देखेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयमाथि पनि उनले चक्कु हान्ने प्रयास गरेका थिए ।
आफूलाई धोका दिएर घिमिरे अष्ट्रेलिया जान लागेकी हुनाले आफूले हत्या गरेको उनले बताएका छन् । शुक्रबारदेखि लागु भएको मुलुक अपराध संहिताअनुसार क्रुर तरिकाले हत्या गरेको घटनामा जन्मकैदको सजाय हुन सक्छ ।
उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।