भोजपुरः जबरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएका एक फरार व्यक्तिलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

२०५९ चैत ९ गते जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत भोजपुरबाट ३ वर्ष ३ महिना कैद सजाय पाएका टेम्केमैयुङ गाउँपालिका वडा नं. १ खम्बुखाका ५२ वर्षीय गजे भन्ने गजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेबेका अनुसार खम्बुखाकै जङ्गलको एक गोठमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । राईलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

पछिल्लो समयमा भोजपुर जिल्लामा प्रहरीको सक्रियताका कारण विभिन्न मुद्दाका फरार तथा आरोपित अभियुक्त पक्राउ गर्ने क्रम बढेको छ ।