भोजपुरः अवैध रूपमा राखिएका हतियार सरकारलाई बुझाउन जिल्ला प्रशासन कार्यालय भोजपुरले आदेश गरेको छ । समयावधिभित्र हतियार नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने कार्यालयले जनाएको छ ।

कानुनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगराएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हतियार तथा खरखजना राखेको भएमा तोकिएको समयमै त्यस्ता सामान बुझाउन कार्यालयले सूचना जारी गरेको हो ।

बिनाअनुमति राखिएका हतियार नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रूपमा बुझाउन सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले आग्रह गरेका छन् । नेपाल सरकारको फागुन २८ गतेको निर्णयअनुसार ३५ दिनभित्र अवैध हतियार सरकारलाई नबुझाए कारवाही गरिने उनले बताए ।