फाइल तस्बिर
इटहरीः इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि ६ करोडका योजना संशोधन गरेको छ । आर्थिक बर्ष ०७५÷७६ को बजेट र उपमहानगरपालिकाले विभिन्न शीर्षकमा उठाउँदै आएको राजस्वको दरलाई संशोधन गर्दै दर घटाउने निर्णय गरेको छ ।
गत माघ महिनामा भएको चौथो नगरसभा बैठकले पारित गरेको राजस्व दर पुनरावलोकन गर्दै संशोधन गर्ने निर्णय गरेको हो । त्यस्तै, गत असारमा चालु आर्थिक वर्ष ०७५÷७६ का लागि बनाएको योजना र बजेटमा विभिन्न कारणवश योजनाको कार्यान्यवन गर्न नसकिएको निष्कर्ष निकाल्दै नगरसभामार्फत् योजना संशोधन गरिएको नगरसभा सदस्य रमेशप्रसाद चौधरीले जानकारी दिए ।
वडा र नगरको बजेट संशोधनको प्रस्ताव राख्दै नगरसभा सदस्य चौधरीले सभामा ६ करोडको योजना संशोधनको प्रस्ताव पेश गरेका थिए । ‘तत्काल सो क्षेत्रमा बजेट सञ्चालन गर्न नसकिएको हुनाले नगराकार्यपालिकाको निर्णयलाई नगरसभामा अनुमोदन गराएका हाँै’, चौधरीले भने, ‘योजना कार्यान्वयन गर्न सहज हुने ठाउँमा यो पल्ट बजेट लगिएको हो ।’
६ करोडको योजनाभित्र झौरादेखि ब्रह्मपुरसम्मको सडक, कान्छीचोक– बडहरा– डकाहा–पटेर्वा– अमाहा– महुलिया हुँदै जनसहयोग स्कुलसम्मको सडक योजना पारित भएको छ । त्यस्तै, खनार प्रहरी चौकी– भानुमार्ग–भारवी कलेज रोड जोड्ने सडक पनि योजनामा समेटिएको छ । त्यस्तै, वडा नम्बर ७ र ८ को लिङ्क रोडको बाँकी खण्डको सडक, वीरनारायण मार्ग सडक कालोपत्रे गर्ने बहुवर्षीय योजना पारित भएको हो ।
यसैगरी, जब्दी मेलादेखि शम्भुनाथ आधारभूत विद्यालयसम्मको सडक, १ नम्बर वडा कार्यालयदेखि माझी टोलसम्मको बाटो, रामजानकी मन्दिरबाट जब्दी टोल जाने बाटो पनि योजनामा समेटिएका छन् । हलगडादेखि कचन चोकसम्मको बाटो, भुर्कीदेखि नहरसम्मको बाटो र टावर मुसहरी टोल आमजुँगीपूर्व बुढीखोला रोड स्रोत बाटो, छोटी पुल हुँदै आमजुँगीसम्मको सडक कालोपत्रे गर्ने योजना पनि बहुवर्षीयभित्र रहेका छन् ।
उपमहानगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि बनाइएको आर्थिक ऐनलाई समेत संशोधन गरेको छ । आर्थिक ऐन २०७५ र विनियोजन ऐन २०७५ कार्यान्वयनका क्रममा समस्या रहेकाले संशोधन आवश्यक रहेको भन्दै अघिल्लो बैठकमा उपमेयर लक्ष्मी गौतमले संशोधन प्रस्ताव राखेकी थिइन् ।
गौतमको प्रस्तावअनुसार आर्थिक ऐन २०७५ को दफा २२ को उपदफा १ देखि ४ सम्म संशोधनका लागि पेश भएको थियो । जसमा राजस्व परिमार्जन संशोधन तथा उठाउने प्रक्रियालाई समेत सहज बनाउन संशोधन गरिएको गौतमले जानकारी दिइन् ।
नगरसभाबाट सामान्य संशोधित पुरक बजेट आर्थिक ऐन संशोधन भएको छ । त्यस्तै, विनियोजन ऐन संशोधन तथा भवन ऐन संशोधन भएको छ । अपाङ्गता परिचयपत्र वितरण ऐन पास भएको छ भने अघिल्लो सभामा पेश भएका राजस्वसम्बन्धी ४ वटा विधेयकहरू प्रक्रियामा अघि बढाइने भएको छ ।