भोजपुर ः वहुविवाह गर्ने एक जोडीलाई जिल्ला अदालत भोजपुरले कैद तथा जरिवानाको फैसला सुनाएको छ । रामप्रसाद राई गाउँपालिका– २ घोद्लेखानी घर भएका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका –२ रानिबासकी १९ वर्षीय निर्मला दर्जीलाई जनही १ वर्ष ६ महिना कैद र १५ हजार नगद जरिवानाको फैसला सुनाइएको हो ।
जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नवीन कोइरालाका अनुसार जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडितलाई ३० हजार क्षतीपूर्ती पनि भराइएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा १ सय ७५ को उपदफा ४ बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजायँ गरिएको हो ।
ती दुई जोडीले गत माघ ३ गते दोस्रो विवाह गरेका थिए । लालबहादुरकी जेठी श्रीमती प्रमिला दर्जीको जाहेरपछि गत माघ १० गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।