विराटनगर  / नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले हिन्दू राष्ट्र निर्माणका लागि जनमत संग्रहको माग गरेका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह हुनुपर्ने बताएका हुन् ।

जनमतका लागि उपयुक्त समय रहेको बताउँदै उनले राजनीतिक दलको हस्तक्षेप बिना जनमत संग्रह गरी हिन्दू राष्ट्रको लागि जनमत लिइनुपर्ने बताए । कोइरालाका अनुसार विकेन्द्रीकरणको अन्तिम लक्ष्य संघीयता रहेकाले संघीयतालाई सफल बनाउन सबैले ध्यान दिनुपर्ने बताए । पहिलो पटकको अभ्यास भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले संघीयता सफल बनाउनुपर्ने उनले बताए ।

करवृद्धिको विरोध

सरकारले करमा अत्यधिक वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको उनको भनाइ थियो । कांग्रेसले जितेको महानगर विराटनगरमा पनि कांग्रेसले करवृद्धिको विरोध गर्ने उनले बताए ।