इटहरी/ सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई तिर्नुपर्ने कमिसन नबुझाएका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ वटा ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ ।
नेप्सेका अनुसार ती ब्रोकर कम्पनीले धितोपत्र बोर्डलाई गत आर्थिक वर्षको नियामक शुल्क नबुझाएका कारण निलम्बन गरिएको हो । शुल्क बुझाएपछि उनीहरूको निलम्बन फुकुवा हुनेछ ।
ती २ ब्रोकर कम्पनी कारवाहीमा परेकाले ती ब्रोकरमार्फत् सेयर खरिदबिक्री गर्ने लगानीकर्ता मारमा परेका छन् । यदि अर्काे ब्रोकरमा लगानीकर्ताले सेयर खरिदबिक्रीका लागि खाता खोलेका रहेनछन् भने ती लगानीकर्ताले सेयर खरिदबिक्री गर्न नपाउने भएका हुन् ।
धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले ब्रोकर नम्बर १७ को एबीसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर को ५ मार्केट सेक्युरिटिज प्रालिलाई निलम्बन गरेको हो ।
यसैबीच साढे १२ बजेसम्मको बजारको अवस्था हेर्दा बजार लगभग ५ अङ्कले तल झरेको छ भने धेरैजसो कम्पनीमा बिक्रीकर्ता नै हाबी भएको देखिन्छ ।