धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिका–कुशेटारस्थित तमोर किनारका १४ अति विपन्न माझी परिवारलाई गएको दशैं सरकारले निर्माण गरेको सानो चिटिक्क परेको घरमा मनाउन पाइन्छ भन्ने लागेको थियो ।
तर उनीहरूको त्यो चाहना दशैंमा त पूरा हुन सकेन । सरकारले निर्माण गरिदिएको नयाँ घरमा बस्ने सपना अहिलेसम्म पनि साकार हुन सकेको छैन । दशैंअगाडि नै घर बनाइ दिइसक्ने भनेर दिएको आश्वासन ९ महिना बितिसक्दा पनि पूरा हुन नसकेको स्थानीय मीनाकुमारी माझी बताउँछिन् ।

विपन्न तथा लोपोन्मुख समुदाय अन्तर्गतका अति विपन्न परिवारका लागि गत आर्थिक वर्षबाट जनता आवास कार्यक्रम शुरु भएको थियो । जस अन्तर्गत अति परिवारलाई सरकारी लगानीमै दुइ कोठे चिटिक्क परेको घर निर्माण गर्न लागिएको हो । तर गत आर्थिक वर्षमै सम्पन्न भइसक्नुपर्ने ती घर अहिलेसम्म तयार हुन नसक्दा कार्यक्रम नै अलपत्र परेको छ ।

लाभग्राहीको १० प्रतिशत लगानी रहने गरी भूकम्प प्रतिरोधी सानो बरण्डा सहितको ढुङ्गा माटोले बनेको २ कोठे कच्ची घर कुल ३ लाख ५० हजार रुपैयाँमा निर्माण गर्न लागिएको थियो । तर पहिलो र दोस्रो किस्ता बापत २५ र ३० प्रतिशत रकम पाए पनि तेस्रो र चौथो किस्ता बापतको ३५ र १० प्रतिशत रकम नपाउँदा निर्माण कार्य बीचैमा अलपत्र बनेको हो ।

namun aaawas  dhankuta pradeshportal.com

कोशी पहाडको धनकुटासहित भोजपुर तेह्रथुम तथा सङ्खुवासभामा ५०÷ ५० वटा गरी २ सय वटा घर निर्माणको चरणमा छन् । पैसा ताकेताको लागि पटक पटक अफिस धाउँदा समेत आश्वासन मात्र पाएको जनता आवास कार्यक्रम कुसेटारकी अध्यक्ष रेणुका माझी बताउँछिन् ।

शहरी विकास मन्त्रालयमार्फत् काम शुरु गरिएको जनता आवास कार्यक्रम अहिले आएर प्रदेश सरकारलाई जिम्मा दिइएको छ । सङ्घीय सरकारले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् नयाँ जनता आवास कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो । स्वामित्व हेरफेरका कारण रकम निकासीमा ढिलाइ भएको तर अब चाँडै नै रकम निकासा हुने शहरी बिकास तथा भवन निर्माण कार्यालय धनकुटाका इञ्जिनियर रजनेश झाले बताए ।

जनता आवास कार्यक्रमको रकम भुक्तानीमा सङ्घीय र प्रदेश सरकारबीच जुहारी चलेका कारण निकासामा ढिलाइ भएको हो । निर्माणमा भएको ढिलाइले गर्दा निर्माणाधीन अवस्थामा रहेका कतिपय कच्ची घर त जीर्णसमेत बनेका छन् । निर्माणाधीन अवस्थाका घर ढल्न सक्ने भन्दै स्थानीय चिन्तित छन् ।