धरानः चैत ७ गते साँझ साढे ६ बजेतिर २ युवामाथि धारिलो हतियार प्रहार गर्ने सबै चारै जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो दिन धरान–९ बगैचा लाइनमा होली पर्व मनाई फर्किने क्रममा पुरानो रिसिबीका कारण युवाबीच विवाद हुँदा हतियार प्रहार भएको अनुसन्धानबाट खुलेको छ । धरान–८ बस्ने १८ वर्षीय सुशान्त लिम्बू, धरान–७ पानमारा बस स्ट्याण्ड बस्ने १८ वर्षीय मनिष लावती, सोही स्थानका १७ वर्षीय निश्चल बि.क. र १८ वर्षीय शरण राई पक्राउ परेका हुन् ।
उनीहरूले धरान–८ सिद्धार्थ मार्ग बस्ने २० वर्षीय निमा तामाङ र १७ वर्षीय मिलन बि.क.लाई धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका थिए । घाइतेमध्ये तामाङको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नमध्ये सुशान्त र मनिषलाई इटहरीबाट र निश्चल तथा शरणलाई धरानको बगरकोटबाट प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।