विराटनगरः राजनीतिक दलका ठुला नेता नै कानुन उल्लङ्घन गर्ने गरेका छन् । विराटनगर विमानस्थलको उच्च सुरक्षा व्यवस्थालाई कमजोर बनाउने नेताहरू आफैले भूमिका खेल्दा यहाँको प्रशासन भने मौन हुन बाध्य भएको छ । मन्त्री एवंम प्रधानमन्त्री भइसकेको व्यक्ति नै भिआइपी प्रवेशद्धार र कोठामा दर्जनौँ कार्यकर्ता लिएर पुग्दा विराटनगर विमानस्थलको सुरक्षामाथि प्रश्न उठ्ने गरेको छ ।

तर, उपल्ला तहका नेताहरूको यस्तो रवैयाका कारण विमानस्थलका पदाधिकारी एवंम सुरक्षाकर्मी मौन हुन बाध्य छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली देखि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका दर्जन बढी नेताहरू भिआइपी कक्ष प्रयोग गर्छन् । ठुला दलका नेताहरूको स्वागतका लागि लामबद्ध रूपमा कार्यकर्ता पुग्दा विमानस्थल परिसर भित्र अपनाउनु पर्ने सामान्य नियम समेत मिच्ने गरेका छन् । यस बारे विमानस्थल प्रशासनले पटक पटक सर्वपक्षीय बैठक राखे गुनासो सम्बोधन गर्ने प्रयास भने नगरेको होइन ।

विमानस्थल प्रमुख टेकनाथ सिटौलाले गत मङ्सिरमा सबै राजनीतिक दलका स्थानीय नेतालाई राखेर गम्भीर बनिदिन आग्रह गरेका थिए । बैठकमा सबै नेताले हुन्छ भने पनि पुनः उही गति देखिएको उनले बताए । ‘आँफेले बुझेर जिम्मेवार बन्नुपर्ने हो, भिआइपीको सुरक्षामा आफै पनि गम्भीर बन्नुपर्ने हो ।’ सिटौलाले भने ।
उनले पुनः हिजो मात्र बसेको सर्वपक्षीय भेलाले विमानस्थलको सुरक्षाबारे गम्भीर बन्न विषय उठाइएको बताए । प्रशासनिक क्षेत्रका अधिकारी, स्थानीय दलका नेता एवंम, सरोकारवाला पक्षबिच भएको छलफलमा सबै जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त भएको छ ।

विमानस्थल प्रशासनले पनि विमानस्थललाई सुरक्षित बनाउन भिआइपी कक्षलाई व्यवस्थित गर्ने तयारी थालेको छ । जसका लागि भिआइपी कक्षलाई फराकिलो बनाउने देखि भिआइपी कक्षमा प्रवेश गर्नेलाई भिआइपी पास दिएर मात्र जाने व्यवस्था मिलाइएको छ ।

सुरक्षा जाँचमा उच्च निगरानी बढाइएको छ भने आवत आवतजावत गर्ने यात्रुलाई समेत प्रहरी प्रशासनले उच्च निगरानी राख्ने गरेको छ ।
भिआइपी आउने बेलामा भने प्रहरीसँगको समन्वयमा विशेष सुरक्षा व्यवस्था गर्ने गरेको सिटौलाले बताए । ‘बढी भिडभाड हुँदा झन् सुरक्षा जोखिम बढ्छ, भिड कम भए सुरक्षा व्यवस्था मिलाउन हामीलाई पनि सहज हुन्छ ।’ उनले भने ।

नेपाल सरकारले राजपत्रमा उल्लेख गरेअनुसारमा विशिष्ट व्यक्तिलाई मात्र सुरक्षाका कारण विमानस्थल प्रवेश गर्दा र निस्कँदा भिआइपी कक्ष प्रयोग गर्न दिइन्छ । तर, ठुला पाटीका केन्द्रीय नेता, सांसद, एवंम कतिपय स्थानीय नेता नै सान र रवाफका लागि भिआइपी कक्ष प्रयोग गर्ने गरेका छन् भने केन्द्र स्तरका नेता आउँदा नारावानी गर्दै स्वागत गर्न भिड लिएर पुग्ने प्रचलन रहेको छ ।