पाँचथरः तमोर नदीबाट निकाल्दै काम गर्दै आएको निर्माण सामग्री स्थानीय सरकारले बन्द गरिदिएपछि जिल्लामा निर्माण भइरहेका दुई आयोजना बन्द भएका छन् । तमोर नदीबाट गिटी बालुवासहितका सामग्री ल्याएर काम हुँदै आएको फिदिम–फालोट सडक खण्डको सल्लेरीसम्म र साम्दिन–मायालुमोड–नवमीडाँडाको काम रोकिएको हो ।

सामग्री नपाएपछि फिदिम–फालोट सडक खण्डको २५ किलोमिटर र साम्दिन–मायालुमोड–नवमीडाँडा सडक खण्डको १४ दशमलव ८ किलोमिटर खण्डमा भइरहेको कालोपत्रेको काम रोकिएको छ । ३ महिना यता, जिल्ला समन्वय समिति र फिदिम नगरपालिकाले निकासीमा कडाइ गर्ने भन्दै काम रोक्न भनेपछि काम सामान्य अवरुद्ध भएको थियो । एक महिना यता भने काम पुरै रोकिएको छ । निर्माण कम्पनी स्वच्छन्द कनकाई जेभीका साइट म्यानेजर डीबी लामाले भने, ‘पहिले अलिअलि सामग्री ल्याएका थियौँ । एक महिना अघिसम्म काम भयो । अहिले पुरै बन्द गरेका छन् । काम रोकिएको छ ।’

दुवै सडक निर्माण आयोजना एउटै ठेक्का अन्तर्गतका दुई साइट हुन् । पहिलो साइटमा अहिले मेसिनले गर्ने काम मात्रै चलिरहेको छ । निर्माण सामग्री दिन नसक्दा कामदार फर्किन थालेको निर्माण कम्पनीको भनाइ छ ।

स्टकमा रहेको सामग्रीले पनि अब काम अघि बढाउने अवस्था नरहेको कम्पनीको भनाइ छ । सम्झौता भएको एक वर्ष हुन लागेको छ । २०७४ चैत २८ गते दुई वर्षभित्रमा काम सक्ने गरी सम्झौता भएको थियो । भ्याटसहित ९३ करोडमा काम सक्ने गरी दुई प्याकेजमा निर्माण कम्पनीले काम जिम्मा लिएको हो ।

क्षेत्राधिकार नाघ्दै निर्णय
यता जिल्ला समन्वय समितिले भने खोलामा वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) प्रतिवेदनअनुसार काम नभएका कारण बन्द गरिएको बताएको छ ।

‘रिपोर्टअनुसार काम नभएको देखिएकाले बन्द गरिएको हो,’ निमित्त जिल्ला समन्वय अधिकारी प्रेम काफ्लेले भने, ‘खोलामा स्काभेटर प्रयोग गरेर काम हुन थालेपछि अत्यधिक दोहनको खतरा रहेका कारण हटाइएको हो ।’

निर्माण सामग्री निकाल्न बन्द गराउने निर्णय जिल्ला समन्वय समितिको क्षेत्राधिकार भित्र पर्र्दैन । फिदिम नगरपालिकाले आवश्यक कदम चाल्न नसक्दा जिससले नै त्यो गरिरहेको छ । फिदिम नगरपालिका भने यो विषयमा मौन देखिएको छ ।

सम्झौता एउटासँग काम अर्कैसँग
फिदिम नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने तमोर नदीबाट निकालिने निर्माण सामग्री रोकिएपछि काम प्रभाबित भएको निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको भने होइन । सञ्जीव निर्माण सेवा नामको कम्पनीसँग फिदिम नगरपालिकाले गत असोज १ गते सम्झौता गरेको हो ।

सम्झौता अनुसार सञ्जीव निर्माण सेवाले १२ लाख १ हजार रकम फिदिम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । तर त्यहाँ सञ्जीवले पनि हाल काम गरिरहेको स्वच्छन्द कनकाइ जेभीलाई त्यो बेचिदिएको हो । यसमा नगरपालिकामा सम्झौता गर्ने कम्पनी र सामग्री उठाउने कम्पनी फरक परेपछि रहस्य थप जटिल देखिएको छ । यस बीचमा आर्थिक चलखेल भएकोसमेत आशङ्का छ ।

Khola (2)