झापाः डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ ।
धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको ३ सय १० दशमलव २५ क्युफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ ।
विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले बरामद गरेको हो । सो काठ सब डिभिजन वन कार्यालय सुरुङ्गामा राखिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
उद्योगका प्रमुख सोमबहादुर तामाङ भने फरार रहेको कार्यालयले जनाएको छ । उनको खोजी भइरहेको घिमिरेले बताए । तामाङलाई वन ऐन २०४९ अनुसार १ वर्ष जेल सजाय र काठको बिगोअनुसारको जरिवाना हुने पनि उनले बताए ।