इटहरीः लागूऔषध बिक्री गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारी परिमाणको लागूऔषधसहित इटहरी प्रहरीले सोमबार २ जना युवालाई पक्राउ गरेको हो । लागूऔषध प्रयोगकर्ता बनेर लागूऔषध खरीद गर्न पुुगेको प्रहरीले खरीद गर्ने गिरोहको चेन तोड्न खोजिरहेको इटहरी प्रहरी प्रमुख डीएसपी समीरचन्द्र खरेलले जानकारी दिएका छन् ।

उनका अनुसार विभिन्न स्थानबाट हुने मागलाई ध्यानमा राखी सप्लाइ गर्ने गरेको समूहले विविध नामका लागूऔषधहरू बिक्री गर्ने गरेको थियो । झट्ट हेर्दा बिरामीले प्रयोग गर्ने औषधीजस्तो देखिए पनि कतिपय यस्ता औषधीमा अफिमको मात्र हुन्छ । यसको डोज बढाउनेदेखि अन्य लागूऔषधमा मिसाएर लागूऔषधको मात्रा बन्ने गरेको प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए ।

डीएसपी खरेलले इटहरीमा लागूऔषध प्रयोग र बिक्री गर्नेको समूह ठूलो भएको हुँदा यी व्यक्तिको मातहतबाट उक्त गिरोहसम्म पुुग्ने अनुमान गरिएको बताए ।

‘हामीलाई सूचना आएसम्म हामी ठूलै परिमाणमा सफलता हात पार्छाैँ भन्ने विश्वास छ’, डीएसपी खरेलले भने, ‘हामी इटहरीलाई ड्रग्स फ्री बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

इटहरी–४ को राजमार्गमा को ३३ प ५७२२ नम्बरको मोटरसाइकल जाँच गर्दा पक्राउ परेका मोरङको बबियाबिर्ताका जितेन्द्र राजवंशी इटहरी– ४ हलगडामा डेरा गरी बस्छन् । त्यस्तै, पाँचथर घर भई इटहरी– २ मा डेरा गरी बस्ने दिनेश सङ्ग्रौलाको कोठाबाट पनि लागूऔषध बरामद भएको हो ।

राजवंशीको साथबाट नाइट्रोजेपाम ट्याब्लेट १ सय ८० पत्ता, ट्रामाडोल क्याप्सुल ४ सय पत्ता बरामद भएको छ । त्यस्तै, उनको कोठाबाट स्पासमेपिभन ५ सय ८४ क्याप्सुल, स्पापेन सीप्लस ८ सय ५० ट्याब्लेट लगायतका विभिन्न नामका औषधी भेटिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, सङ्ग्रौलाको कोठामा भने ट्रामाडोल नामको औषधी ३ हजार २ सय ३० क्याप्सुल भेटिएको छ ।

प्रहरीका अनुसार सो औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना खरीद गर्न पाइँदैन भने बिक्री गर्नका लागि सम्बन्धित चिकित्सकीय तालिम र अनुमति प्राप्त हुनुपर्छ । प्रहरीले उनीहरू दुवैलाई लागूऔषध खरीद तथा बिक्रीअन्तर्गत मुुद्दा चलाइने बताएको छ ।