फाइल तस्बिर
बेलबारीः यहाँस्थित एक हाइप्रोफाइल घटनाले अन्ततः टुङ्गो पाएको छ । २६ दिन अघिदेखि हराइरहेकी बेलबारी निवासी २६ वर्षीया रमिला राईको शव कोशी नदीमा भेटिएपछि घटनाको अनुसन्धानले पूर्णता पाएको हो ।
उनका प्रेमी भनिएका स्थानीय नेकपाका नेता योगेन्द्र गुरुङले प्रहरीसामु दिएको बयानमा रमिलाको हत्या गरेर कोशीमा फालेको बताएका थिए । तर पनि शव खोज्न प्रहरीले धेरै मिहिनेत गर्नुपरेको थियो । लामो प्रयासपछि प्रहरीले स्थानीय युवाको सहयोगमा आज बिहान ९ बजे शव भेट्न सफल भएको हो ।
बोराभित्र बाँधेर शव राखिएको भेटेपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार उक्त शवलाई पोस्टमार्टमका लागि धरानस्थति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा ल्याइँदैछ ।
अरोपित गुरुङ यसअघि नै पक्राउ परिसकेका छन् । शव प्राप्त नहुँदा उनीमाथि मुद्दा कसरी चलाउने भन्ने बारेको अन्योलता अब हट्ने निरीक्षक राईले जानकारी दिए ।
फाइल तस्बिर