झापाः झापाको कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको पीडितको भनाइ छ । युवतीका बाबुले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।