इटहरीः उमेरले ५० नाघेका व्यक्तिलाई जो कहिले अभिभावक ठान्छन् । छरछिमेकका बालबालिका घुलमिल हुँदै संरक्षणको छाया खोज्छन् । तर जब ती नै अभिभावकले गलत नियत राख्छन्, तब दुव्यवहारको सिकारमा पर्छन् कलिला बालबालिका ।

यस्तै एउटा घटना भएको छ इटहरीमा । नजिकका मामा पर्नेलाई विश्वास गर्दा यौन हिंसाको सिकार भएका छन् दुई वालिका । ११ वर्षीया वालिकालाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि रहस्य खुलेको छ । करणी गर्ने सोही व्यक्तिले अर्की ७ वर्षीया वालिकालाई समेत यौन दुर्व्यवहार गरेपछि उनीमाथि इटहरी प्रहरीमा उजुरी परेको थियो ।

इटहरी– ३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बुले ति बालिकाहरुलाई दुर्व्यवहार गरेको प्रहरीको भनाई छ । पूर्व प्रहरीसमेत रहेका लिम्बुसँग केटाकेटी नजिक हुने र सोही अवस्थामा गलत नजर राख्दै दुर्व्यवहार गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए । लिम्बुले ११ वर्षीया वालिकालाई पटक–पटक करणी गर्ने गरेको स्वीकारेको समेत जानकारी दिए । ‘पीडितलाई मेडिकल टेस्टका अस्पताल पठाइएको हुँदा आवश्यक प्रमाण जुट्दै छन्, यद्धपि पीडकले समेत स्विकारी सकेको अवस्था छ । उनले भने ।’

लिम्बुले चैत्र ८ गते ती वालिकालाई अन्तिम पटक करणी गरेको बताइएको छ । वालिकालाई जबरजस्ती गरेको बारे परिवारका सदस्यले थाहा पाए पछि इटहरी प्रहरीलाई उजुरी गरेको थियो । त्यस्तै सोही व्यक्तिले अन्य एक ७ वर्षीया वालिकालाई पनि दुर्व्यवहार गरेको उजुरी परेको छ । चैत्र १ गते लिम्बुले आफूसँग खेल्न आउने बालबालिका मध्ये एक्लै पारेर ७ वर्षीय ती वालिकाको पनि संवेदनशील अङ्ग छुने काम गरेको प्रहरीमा उजुरी परेको छ ।
चैत्र १० गते पक्राउ परेका लिम्बुलाई प्रहरी म्याद थप गरी थप अनुसन्धान गरेर करणी र यौन दुर्व्यवहार सम्बन्धित मुद्दा चलाउने तयारी गरेको छ ।

१३वर्षीय वालकनै करणी अभियाेगमा समातिए
इटहरीमा अर्को अनौठो घटना भएको छ । १३ वर्षीया बालकले ८ वर्षकी वालिकालाई करणी गरेको उजुरीको आधारमा बालक पक्राउ परेका छन् । आफन्तले करणी गरेको भन्दै उजुरी गरे पछि ती बालक प्रक्राउ परेका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए ।

इटहरी प्रहरी प्रमुख डिएसपी समीरचन्द्र खरेलकाअनुसार बालकले बयानमा करणी गरेको स्वीकारेका छन् । बालकको भनाइ उद्धृत गर्दै खरेलले भने ‘ठुला दाइहरूले मोबाइलमा पोर्न मुभी देखाए पछि त्यसैको नक्कल गर्न खोजिएको हो ।’

खरेलले प्रविधिको गलत प्रयोगले सामाजिक गति बिग्रन लागेको बताए । कलिला वालमतिष्कमा गम्भीर असर पुग्ने सामाग्रीले दीर्घकाल सम्म प्रभाव पर्ने हुँदा समाजका हरेक व्यक्ति सतर्क हुनुपर्ने उनको भनाइ छ ।

वालहिरासतको समेत अभाव रहेको हुँदा यस्तो संवेदनशील घटनालाई के गर्ने भन्ने अन्योल रहेको उनले गुनासो गरे । सम्झाएर पठाउनुबाहेकको विकल्प नभएको भन्दै अभिभावकको विशेष निगरानीमा सन्तान हुर्काउनु पर्नेमा उनले जोड दिए ।