उदयपुरः उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र रु १ लाख आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महिना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए ।

दुवै किशोर १८ वर्षभन्दा तल भएका कारण पूरा उमेर भएकाहरूले पाउने पूर्ण जन्मकैद सजायको आधा सजाय गर्ने ती किशोरलाई कानूनी व्यवस्था भएबमोजिम जन्मकैदको फैसला भएको पनि अदालतले जनाएको छ ।

गत कात्तिक ६ गते जङ्गलमा एक्लै बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई एउटै कक्षामा अध्ययन गर्ने ती दुई किशोरले जङ्गलमा पुगेर यौन प्र्रस्ताव राखेका थिए । बालिकाले प्रस्ताव अस्वीकार गरेपछि बालिकाको बलात्कार गरेर हत्या गरेको आरोप दुई किशोरलाई लागेको थियो ।

बालिकाको हत्या गरेर जङ्गलबाट गाउँ नजिकैको खरबारी डाँडाको रुखको फेदमा लगेर शव फालेको अवस्थामा फेला परेको थियो । हत्या गर्नेहरूको खोजी गर्ने क्रममा प्रहरीले सुनसरीको धरानबाट प्रहरीको तालीम प्राप्त कुकुरसमेत प्रयोग गरेपछि एक किशोर पक्राउ परी उसैको सहयोगमा अर्का किशोर पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।