बेलबारी/ पछिल्लो समय उत्तरी मोरङको बेलबारी, सुन्दरहरंैचा, केराबारीलगायतका क्षेत्रमा लागु औषधका प्रयोगकर्ता बढेपछि प्रहरीले ‘अप्रेसन’ थालेको छ । जसका कारण धमाधम लागुऔषध प्रयोगकर्ता पक्राउ पर्न थालेका छन् ।
प्रहरीका अनुसार अधिकांश प्रयोगकर्ता १३ देखि १९ वर्ष उमेरसमूहका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईका अनुसार एकै दिन ५० जनासम्म लागु औषध प्रयोगकर्ता पक्राउ परेका छन् ।
उनीहरूमध्ये गाँजाको सेवन गर्ने धेरै पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई लागु औषधको असरसम्बन्धी जानकारी दिएर अभिभावकको जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विद्यालयमा गएर लागु औषधको प्रयोगबाट हुने बेफाइदाको बारेमा पनि जानकारी दिन थालेको कार्यालयले जनाएको छ ।

लागु औषधविरुद्ध सडकमा विद्यार्थी
यसैबीच, बेलबारी – ११ को लक्ष्मीमार्गमा रहेका ४ वटा विद्यालयका विद्यार्थी लागु औषधको विरुद्धमा सडकमा आएका छन् । एक सामुदायिक र ३ वटा संस्थागत विद्यालयका विद्यार्थी लागु औषधविरुद्धका प्लेकार्डसहित सडकमा आएका हुन् । लक्ष्मी, माउन्ट एभरेष्ट, मोरङ ज्ञानोदय र सिद्धार्थ मेमोरियलका विद्यार्थीले आइतबार सडकमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीलाई लागु औषधका विषयमा जानकारी दिन र समाजमा चेतना फैलाउन कार्यक्रम गरिएको स्थानीय शिक्षक देवी पोखरेलले बताए ।