विराटनगरः मन्त्रीहरूको अतिथि मोहले प्रदेश सरकारले सोचअनुसार खर्च गर्न नसकेको सांसदहरूले गुनासो गरेका छन् । प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज विराटनगरमा प्रदेश सांसदमाझ गरेको अन्तक्रियामा बोल्ने सांसदहरूले, कार्यालय समयमा मन्त्री र कर्मचारी नभेट्दाको परिणाम सुस्त खर्च भएको निचोड निकालेका हुन् ।
प्रदेश सांसद सर्वध्वज सावाले अतिथि बन्न पाए दगुरिहाल्ने प्रथाको अन्त्य नभए सम्म खर्च गर्न कठिन हुने बताए । सांसदहरू हातमा योजना लिएर मन्त्रालयपिच्छे दगुरे पनि मन्त्रीहरू भने रिबन काट्नै व्यस्त रहेको आरोप लगाए । जनतामाझ जान योजनाका चाङ हुँदा हुँदै पनि मन्त्रायमा पैसा थुप्रिनु दुखद रहेको बताए । उनले प्रदेश सरकारको संरचना बनी नसकेको हुँदा अहिले खर्च गर्न स्थानीय सरकारलाई भरोसा गर्नुपर्नेसमेत सुझाव दिए ।
अर्का प्रदेश सांसद जयराम यादवले सबै दलका सांसदलाई समान आर्थिक अधिकार दिइनुपर्ने तर्क गरे । सांसदहरू नवोदिता चौधरी, उमिता विश्वकर्मा, विष्णुमाया तुम्वाहाङ, उषा कला राईलगायतका सांसदले भने समानुपातिक र प्रत्यक्ष सांसदलाई आर्थिक योजना छनोट र संसद् विकास कोषको खर्च गर्ने बारे समान अधिकारी दिइनुपर्ने धारणा राखेका छन् ।
प्रदेश सांसद शेखरचन्द्र थापाले सांसदहरूसँगको अन्तर्क्रिया बाँकी ३ महिनामा ८८ प्रतिशत बजेट खर्च गर्न पाउने बैधतामात्र खोजिएको हो की भन्दै व्यंग कसे । उनले सांसदहरूले समान आर्थिक अधिकारीको कुरा उठाएको भन्दै भिख नभई अधिकार मागेको टिप्पणी गरे । उनले दिगो क्षेत्रमा बजेट खर्च गर्न मन्त्रीलाई सुझाव दिँदै कार्यकर्ता लक्षित नभई जनता लक्षित बजेट हुनुपर्ने धारणा राखे । अर्का सांसद उपेन्द्र प्रसाद घिमिरेले स्पष्ट योजना तर्जुमा गर्न सुझाव दिँदै मानव संसाधनको विकासमा पनि जोड दिन आग्रह गरे ।
प्रदेश सरकारले भने कर्मचारी व्यवस्थापन, योजना छनोटको सुस्तता लगायतका कमजोरीले गर्दा प्रदेश सरकारले सोचेअनुसार खर्च गर्न नसकेको बताएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मान्त्री इन्द्र आङबोले आज चालु खर्च तर्फ १४.३० प्रतिशत र पुँजीगत खर्चतर्फ ११.२२ प्रतिशत मात्र खर्च भएका बताए ।
सबै सांसदको जवाफ दिँदै मन्त्री आङ्वोले बजेट खर्चको अवस्था लुकाउन नचाहेको स्पष्ट पारे । उनले पारदर्शी हिसाबले प्रदेश सरकार चलेको भन्दै जति खर्च भएको त्यो स्पष्टसँग देखाउने प्रयत्न गरेको बताए । उनले चालु खर्च कम भएकोमा खुसी हुनुपर्ने भन्दै वित्तीय अनुशासनमा जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पुँजीतर्फ पनि खर्च गर्दा सचेत हुने बताए ।