धरान / अस्वाभाविक कर वृद्धि गरेको भन्दै धरानमा नेपाली कांग्रेससँगै व्यवसायीहरूले पनि करवृद्धिको विरोधमा ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली कांग्रेस धरान उपमहानगर समिति र सुनसरी उद्योग वाणिज्य संघले धरान उपमहानगरपालिकामा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै वृद्धि गरिएको कर खारेजीको माग गरेका हुन् । कांग्रेसले बिहान धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई ज्ञापन पत्र बुझाएको थियो भने व्यावसायीहरूले दिउँसो कार्यकक्षमा पुगेर कार्यवाहक प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए ।

12 1
गत आर्थिक वर्षमा वृद्धि भएको करले नै जनतालाई आर्थिक भार परिरहेको बेला पुनः यो वर्ष करको भार थोपरेको भन्दै धरानमा नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको छ भने करको दर सिफारिश गर्ने राजस्व परामर्श समितिमा प्रतिनिधि भएको उवा संघ आफैँ पनि असन्तुष्ट बनेको छ । परामर्श समितिको सिफारिशअनुसार करको दर र दायरा वृद्धि गर्नुपर्ने उपमहानगरपालिकाले समितिको सिफारिश विपरीत कर वृद्धि गरेको व्यवसायीहरूको दाबी छ ।
करवृद्धि विरुद्ध नेपाली कांग्रेसले शनिबार धरानमा ¥याली गर्नुको साथै भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा विरोध सभा आयोजना गरेको थियो । कांग्रेसले प्रमाणीकरण भइसकेको आर्थिक ऐन २०७५ लाई खारेज गरी करको भार जनतालाई नथोपर्न माग गरेको छ । ज्ञापन पत्रमा जनताको पक्षमा अडिग रहँदै आएको पार्टीले जनताको ढाड सेकिने गरी कर वृद्धि गरिएकोमा उदासीन भएर बस्न नसक्ने उल्लेख गरिएको छ ।
लोकतन्त्रको गहना निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूले जनचाहना प्रतिकूल काम गर्नेबारे कसैले पनि नसोचेको कांग्रेसले ज्ञापन पत्रमा उल्लेख गरेको छ । मागको सम्बोधन नभए आन्दोलनको सशक्त कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिँदै भनिएको छ, ‘नगर नेतृत्वलाई १० दिनभित्रमा वृद्धि गरिएको करको बारेमा सम्बोधन गरी समस्याको समाधान गर्न माग गर्दछौं ।’
करले मर्का परेको व्यापक जनगुनासो आएपछि कांग्रेसले सबैसँग राय, सल्लाह लिएर कर वृद्धिको आन्दोलन थालेको कांग्रेस सचिव श्याम पोख्रेलले बताए । बहुमतको दम्भमा जनतालाई मार पर्ने गरी वृद्धि गरिएको कर खारेज नभएसम्म आन्दोलन भइरहने उनले बताए ।
‘यो करवृद्धिले सामान्य जीवन यापन गरिरहेका जनतालाई साह्रै मार परेको छ । भदौ १३ गतेसम्म कुनै कदम नचालिए हामी कडा कदम चाल्छौं,’ पोख्रेलले भने । कार्यवाहक प्रमुख भण्डारीले जिम्मेवार राजनीतिक पार्टीले जनताको पक्षबाट खबरदारी गरेकोप्रति आफू सकरात्मक रहेको प्रतिक्रिया दिइन् । यद्यपि उनले अन्य नगरको तुलनामा धरानमा वृद्धि भएको करको दर ज्यादै थोरै मात्र भएको उल्लेख गर्दै जनतालाई साँच्चै मार परेको भए समायोजन गर्नेबारे पनि पुनर्विचार हुने बताइन् ।
‘करको दरभन्दा पनि दायरा बढाउने हो । हामीले अन्य नगरमा जस्तो धेरै कर वृद्धि गरेका छैनौं । तर पनि जनतालाई मार परेको छ भने त्यो हेर्छौँै,’ उनले भनिन् ।
यसैगरी, दिउँसो सुनसरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विजय श्रेष्ठको नेतृत्वमा गएको टोलीले करको दर पुनरावलोकनको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । संघले १० प्रतिशतदेखि २५ प्रतिशतसम्म मात्र व्यवसाय करको दर समायोजन गर्न तथा करको दायरामा वृद्धि गरी समायोजन गर्न लिखित रूपमा नै सुझाव दिए पनि एकपक्षीय रूपमा कर वृद्धि भएको जनाएको छ । संघले कर अत्यधिक भएको जनगुनासो आएकाले व्यवसाय कर तथा अन्य कर पुनरावलोकन गरेर मात्र कर सङ्कलन कार्य गर्न माग गरेको छ । साथै, सवारी साधन पार्किङ शुल्क तत्काल खारेज गर्न पनि संघले माग गरेको छ ।

14 1