इटहरीः यही चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू सरकारले हिजो सार्वजनिक गरेको छ ।
ती निर्णयमा १ नम्बर प्रदेशसँग सम्बन्धित निर्णय पनि परेका छन् । यी हुन् सरकारले गरेका प्रदेश नम्बर १ सँग सम्बन्धित निर्णयहरूः
१. पूर्व–पश्चिम राजमार्गको पकली–कोशी नदी–त्रिजुगा नदी–फत्तेपुर–रुपनगर सडकखण्डको चार लेन सडकको रेखाङ्कन स्वीकृत भएको छ । ती सडक खण्डलाई राजमार्गको मापदण्ड कायम गरी लागू गर्ने निर्णय सरकारले गरेको छ ।

२. विराटनगर जुट मिल्स लिमिटेडमा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्न विराटनगर उच्च अदालतका न्यायाधीश केशरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको छ ।

३. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र साविक चौँरीखर्क गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी वडा नं ३ चाँैरीखर्क क्याङमा कायम गरिएको छ ।

४. सुनसरीको बर्जु तालको संरक्षण र विकास गर्नका लागि गुरुयोजना तर्जुमालगायत अन्य आवश्यक कार्य तत्काल अघि बढाउन वन तथा वातावरण मन्त्रलायललाई सैद्धान्तिक स्वीकृति दिने बैठकले निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाएका छन् ।

त्यस्तै, सरकारले राष्ट्रिय विकास परिषद् २०७५ का सदस्यको मनोनयन पनि गरेको छ ।

राष्ट्रिय योजना आयोग गठन कार्य सञ्चालन आदेश २०७४ बमोजिम परिषद् सदस्य सरकारले मनोनयन गर्ने व्यवस्था छ ।
जसअनुसार १ नम्बर प्रदेशबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वा र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी चयन भएका छन् ।

त्यस्तै, सरकारले जुट उद्योगलाई विद्युत् महशुल छुट दिने निर्णय पनि गरेको छ । विद्युत् खपत भएका आधारमा निकासी भएको परिमाणमा खर्च भएको विद्युत् महशुलको ७० प्रतिशतसम्म छुट उपलब्ध गराइने सञ्चारमन्त्री बाँस्कोटाले जनाए ।