इटहरीः प्रदेश नम्बर १ को नाममा लिम्बुवान अटाउनुपर्ने भन्दै कुमार लिङ्देनको संघीय लिम्बुवान मञ्चले भोलि इटहरीबाट विराटनगरसम्म मार्चपास गर्ने भएको छ ।
प्रदेश १ को नामकरण र स्थायी राजधानी भदौभित्रै टुङ्गो लगाउने चर्चा चलिरहँदा लिङ्देनको पार्टीले यस्तो कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार बिहान साढे ७ बजेदेखि पौने ८ बजेसम्ममा लिम्बुवान भोलेन्टियरहरूले मार्चपास शुरु गर्ने कुमार लिङ्देनले बताए ।
आफ्नो नेतृत्वमा २ हजार बढी लिम्बुवान भोलेन्टियर्ससँगै मार्चपास गरिने लिङ्देनले बताए ।
मार्चपास गरेर विराटनगरको मुख्यमन्त्री कार्यालय, मन्त्रालय र प्रदेश सभासम्म पुग्ने लिङ्देनले बताए । ‘लिम्बुवानको लागि चर्को घाममा पनि हामी हिँड्छाैं भन्ने सन्देश बोकेर हामी मार्चपास गर्दैछौँ’, प्रदेश पोर्टलसँग विशेष कुराकानी गर्दै लिङ्देनले भने, ‘लिम्बुवानको कुरा सुनाउन हामी प्रदेश सभा र अस्थायी राजधानी विराटनगर सम्म जाँदैछौँ ।’