संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन भोलि प्रदेश १ को अस्थायी राजधानी विराटनगरसम्म मार्च पासमा जाँदैछन् । आफ्ना २ हजार नेता कार्याकर्तासँगै मार्चपास गरेर सोमबार प्रदेशको अस्थायी राजधानी विराटनगरसम्म लिङ्देन पुग्दैछन् ।
नेपालमा संघीयताको पक्षमा लामो समय अभियान चलाउने लिङ्देन लिम्बुवानलाई जसरी पनि प्रदेश १ मा अटाउनुपर्छ भन्ने पक्षमा छन । ९३ सांसद भएको प्रदेश १ को प्रदेश सभामा आफ्नो दलको एक मात्रै सांसद भएका लिङ्देन गणितले पेलेर जानुहुन्न भन्ने बताउँछन् । लिम्बुवान मञ्चका यी र यस्तै परिवेशमा मार्चपासमा व्यस्त छन् लिङ्देन । व्यस्तताका बाबजुद उनीसँग प्रदेश पोर्टलकर्मी विराट अनुपमले लिएको अन्तर्वार्ताः


तराईको चर्को गर्मीमा इटहरीदेखि विराटनगरसम्मको मार्चपासको उद्देश्य के हो ?
उद्देश्य प्रष्ट छ । प्रदेश १ को प्रदेश सभा, मन्त्रालय र मुख्यमन्त्री कार्यालयलाई हामी लिम्बुवानको माग सुनाउन चाहन्छौँ । त्यसैको लागि हो मार्चपास । चर्को गर्मीका बाबजुद पनि २ हजार बढी लिम्बुवान भोलेन्टियर सहभागी हुनेछन् ।

प्रदेश १ को नाम के हुनुपर्छ भन्ने हो तपाईँको लाइन ?
लाइन प्रष्ट छ । प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान हुनुपर्छ ।

यो ‘र’ नथपिकन तपाईंले भनेकै नामबाट किरात मात्रै राख्दा के हुन्छ ?
किरात किरातको ठाउँमा हुनुपर्छ । लिम्बुवानको ठाउँमा लिम्बुवान हुनुपर्छ । त्यसैले प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान हुनुपर्छ । नेपालमा संघीयताको लागि लिम्बुवानको लामो सङ्घर्ष भएकाले प्रदेश १ को नाममा लिम्बुवान अनिवार्य आउनुपर्छ । प्रदेश १ को नाम राख्दा प्रदेश २ पछि मात्रै राख्नुपर्छ ।

सामाजिक सञ्जालमा भाइरल भएको एक तस्बिरमा त तपाईंको निधारमा किरात प्रदेश जिन्दावाद भनेको छ । त्यो खुब प्रचार भयो । प्रदेश १ को पहिचानको नाम राख्न किरात साझा हुन्छ भन्ने पनि छन् । यसमा तपाईंको धारणा के छ ?
म लिम्बुवानको अभियन्ता हुँ र म किरातको समर्थक पनि हुँ । तर, अघि भनेँ नि लिम्बुवानको ठाउँमा लिम्बुवान हुनुपर्छ । किरातको ठाउँमा किरात हुनुपर्छ । अरुणवारीका ९ जिल्लाले लिम्बुवान प्रतिनिधित्व गर्ने भएकाले लिम्बुवानको ठाउँमा लिम्बुवान हुनुपर्छ ।

तर, पहिचानको सबैभन्दा ठुलो कुरा गर्ने साबिक माओवादीको नेतृत्वमा रहेको प्रदेश ६ को नाम कर्णाली भएको छ । प्रदेश ४ को नाम गण्डकी भएको छ । यस्तै हिसाबमा हेर्दा त नेकपाको २ तिहाइ भएको प्रदेश १ को नाम कोशी वा सगरमाथा हुने पनि चर्चा छ । यसमा तपाईंको के धारणा छ ?
प्रदेश ६ को नाम खसान हुनुपर्छ भन्ने मुद्दाहरू पनि अहिले उठेका छन् । राजधानीकै सवालमा पनि त्यहाँ विवाद छ । प्रदेश १ को नाम कोशी वा सगरमाथा कुनै हालतमा स्वीकार्य छैन ।
बरु प्रदेश १ को नाम प्रदेश १ नै होस् तर सगरमाथा र कोशी कुनै हालतमा स्वीकार्य छैन । त्यसो गरिए आन्दोलनको आँधी आउँछ । रगतको खोलो बग्छ ।