प्रकाशपुरः गत बुधबार भूमिहीनहरूलाई बसोबास गराउने सप्तरीको गोबरगाडा र आसपासका क्षेत्रमा एउटा समूह भेला भयो । देशभरका भूमिहीनलाई जग्गा दिलाउने भन्दै गोबरगाडा र कञ्चनपुरमा मानिस भेला पारिएको थियो । नेशनल मङ्गोल अर्गनाइजेसन नामक पार्टीका कार्यकर्ता कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रको भूमि कब्जा गर्न जत्था लिएर बसेका थिए ।

आरक्षको मध्यवर्ती क्षेत्रमा अनधिकृत अतिक्रमण हुन लागेको खबर तत्काल आरक्षका कर्मचारीमार्फत् वार्डेन रामकुमार चौधरीले जानकारी पाए । देशभरिका भूमिहीनलाई बस्ती बसाउने भन्दै मङ्गोल अर्गनाइजेशन नेपालका प्रदेश १ का इन्चार्ज शक्ति चाम्लिङ राईको नेतृत्वमा भेला भएको भीडलाई प्रहरीले सम्झाएको थियो ।

जग्गा कब्जा गर्ने विषय चौधरीले जानकारी पाउने बित्तिकै सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए । प्रजिअले पनि तत्काल सशस्त्र र जनपद प्रहरीलाई सो क्षेत्रमा खटाएका थिए । भेलामा आएका सबैलाई लालपुर्जा नै दिने आश्वासन दिइएको थियो ।
सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टका अनुसार सो दलले धादिङ, उदयपुर, सप्तरी, सोलुखुम्बु, सङ्खुवासभा,

झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट भूमिहीनहरूलाई जग्गा दिलाउने आश्वासन दिँदै कोशी टप्पु क्षेत्र ल्याइएको थियो । लालपुर्जा लिने मानसिकतामा आएको भीडले प्रहरीको अनुरोधलाई इन्कार गर्दै बल प्रयोग गर्यो ।

त्यसपछि प्रहरीले जबर्जस्ती बल प्रयोग ग¥यो । सो दिन सप्तरी प्रहरीले भीडलाई तितरबितर पारेको थियो । झन्डै ४ सय मानिसलाई लखेट्न हम्मे परेपछि भीड नियन्त्रण गर्ने क्रममा १० राउन्ड अश्रुग्यास र लाठी चार्ज गर्नुपरेको थियो ।

सप्तरीमामात्र होइन सुनसरीको श्रीलङ्का टप्पुमा पनि विभिन्न बहानामा ऐलानी जग्गामाथि अतिक्रमण शुरु भएको छ । आरक्ष प्रशासन र सम्बन्धित नगरपालिकाबाट कुनै पनि अनुमति नलिई श्रीलङ्का टप्पुमा कृषिकार्य गर्ने भन्दै सयौ बिघामा ट्याक्टर लगाएर जग्गा कब्जा गर्न भू माफिया सक्रिय देखिन्छन् ।

बिहीबार अनुमतिबिना काम भएको थाहा पाएपछि वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख र सम्बन्धित वडाका वडाध्यक्ष अनुगमन गर्न जाँदा अनधिकृत तरिकाले खनजोत गरेको पाइएको हो । अनुगमनमा गएका जनप्रतिनिधिहरूले गैरकानुनी तरिकाले जग्गा खनजोत नगर्न निर्देशन दिए पनि खनजोत गर्न रोकिएको भने छैन ।

निर्देशन दिँदादिँदै पनि काम निरन्तर भएकाले बिहीबार श्रीलङ्कामा केहीबेर ठेलमठेलको स्थिति पनि आएको थियो । बिहीबारको अनुगमनपछि पनि खनजोतको काम भने रोकिन सकेको छैन ।

बुधबारको घटनापछि गोबरगाडा क्षेत्रबाट धेरै मान्छे बाहिर निस्किए पनि अझै पनि सो क्षेत्रमा विभिन्न व्यक्तिहरू खालि क्षेत्रमा जग्गा रोकेर बसेका छन् । सप्तकोशी नदीको आसपासमा रहेका सुनसरी, सप्तरी र उदयपुरका खालि भूमिमा अहिले ठूलो सङ्ख्यामा नयाँ अनुहार देखिन थालेका छन् ।
खालि रहेको सो क्षेत्रका जग्गामा पछिल्लो समयमा कृषि गर्ने र गौचरन बनाउनेजस्ता बहानामा जग्गा अतिक्रमण हुन शुरु भएको हो ।

सेना, आरक्ष र प्रहरीको सक्रियता बढ्यो
बुधबारको भेला र बिहीबारको ठेलमठेलको अवस्थापछि आरक्षको मध्यवर्ती क्षेत्रमा सेना र आरक्ष कर्मचारीको संयुक्त गस्ती बढेको छ । आरक्षको मात्र होइन जिल्लाका सबै सुरक्षा संयन्त्रले पनि चनाखोका साथ अतिक्रमणको प्रयासलाई निरुत्साहित गर्न लागेको छ ।
‘हामीले गस्ती बढाएका छौँ । आर्मीसँगै आरक्षका कर्मचारी पनि छन्,’ वार्डेन रामदेव चौधरीले भने, ‘आरक्षलाई जोगाउन ३ जिल्ला (सुनसरी, सप्तरी, उदयपुर) का सिडिओ सा’पहरूलाई पनि जानकारी गराएको छु । उहाँहरू पनि यो विषयमा गम्भीर हुनुहुन्छ ।’