बेलबारी : स्थानीय सरकारले कर वृद्धि गरेको भन्दै देशभर विरोधका कार्यक्रम भइरहेका छन् । सबैजसो जिल्लाका स्थानीय तहमा करवृद्धिको विरोध भइरहँदा उत्तरी मोरङका २ वटा स्थानीय तहमा भने विभिन्न शीर्षकमा करवृद्धि नगरिएको बताइएको छ ।
मोरङको बेलबारी नगरपालिकाले विभिन्न १८ वटा शीर्षकमा कर नलिएको जनाएको छ । नगरपालिकाले दिएको जानकारीअनुसार बेलबारी नगरपलिकामा सहकारी संस्थाहरूको नवीकरण, नयाँ सहकारीको दर्ता, साना मझौला तथा ठूला उद्योगमा आगलागी भएको सिफारिश, वैैदेशिक रोजगारमा मृत्यु भएका व्यक्तिको सिफारिशमा कुनै शुल्क नलाग्ने भएको छ ।
त्यस्तै, दलित तथा अपाङ्ग, परिचयपत्र सिफारिश, सार्वजनिक मन्दिर, गुठी, अस्पताल सामुदायिक विद्यालय, गुम्बा आदिमा गरिने सिफारिशमा पनि शुल्क नलाग्ने भएको हो । जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइँ दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता सिफारिश पनि निःशुल्क हुने बताइएको छ ।
अल्पसङ्ख्यक दलित, गरिब, सबै प्रकारका अनुसूची फारम, औषधी, एम्बुलेन्स र दमकलमा पनि शुल्क नलाग्ने नगरले जनाएको छ । भारी नबोकेका मालवाहक सवारी, शववाहन, मोटरसाइकल, उपचारको लागि गरिने सिफारिश पनि निःशुल्क गरेको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।

सुन्दरहरैँचामा १५ शीर्षकमा कर छुट
यस्तै, मोरङको सुन्दरहरैंचा नगरपालिकाले पञ्चेबाजा दर्ता, अपाङ्गता भएका व्यक्तिहरूको सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइँ दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्तामा शुल्क नलाग्ने जनाएको छ ।
नगरका अनुसार वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको सिफारिश, घर टहरामा आगलागी भएको सिफारिश, अल्पसङ्ख्यक दलित, गरिब र पिछडा वर्गको लागि नागरिकता सिफारिश र सबै प्रकारका अनुसूची फारममा शुल्क नलाग्ने भएको हो ।
पूर्ण रूपमा कृषिमा आधारित सहकारी, नगरभर प्रयोग हुने शववाहन, देशभर प्रयोग हुने दमकल र इन्टरनेट लगायतका सेवा निःशुल्क गरिएको नगरपालिकाले जनाएको छ ।

लक्षित वर्गलाई छुट
नगरले गरेका कतिपय छुट लक्षित वर्गका लागि रहेका छन् । महिलाको नाममा दर्ता भएको व्यवसायमा २० प्रतिशत, विद्यार्थीका लागि गरिने सबै सिफारिशमा ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिशका लागि ५० प्रतिशत छुट गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । अल्पसङ्ख्यक दलित, गरिब र पिछडा वर्गको लागि नागरिकता सिफारिशको छुट पनि लक्षितवर्ग केन्द्रित देखिन्छ ।

कर घटाइएकोमा नेकपा खुशी
नेपाली कांग्रेसले आफ्नो नेतृत्व भएका स्थानीय तहमा कर नबढाउने बताउँदै आएको छ । सुन्दरहरैंचामा कर घट्नुको जस भने आफूलाई जाने नेकपाले जनाएको छ ।
आफूहरूले कर घटाउन मेयरलाई ज्ञापन पत्र बुझाएकोमा त्यसैको सम्बोधन भएको नेकपाका नेताहरूको भनाइ छ । नगरपालिकाले लगाएको कर अवैज्ञानिक तथा अव्यवहारिक भएको भन्दै सुन्दरहरैंचाका नेकपाका नेताले गत बैशाख २४ गते ज्ञापन पत्र बुझाएका थिए ।