बेलबारीः प्रेमिकाले विवाह गर्न दबाब दिन थालेपछि बेलबारी–४ की २६ वर्षीया रमिला राईको हत्या सोही वडाका योगेन्द्र गुरुङले गरेको खुलेको छ । प्रेमिका हत्या अभियोगमा पक्राउ परेका गुरुङले प्रहरीसँगको बयानमा यस्तो बताएका हुन् ।
राजनीति र सामाजिक जीवनमा राम्रो छवि बनाएका गुरुङका श्रीमती र २ छोरा छन् । विवाह गर्ने पक्षमा नरहेका गुरुङलाई रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि हल्ला हुने डरले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । योगेन्द्रले फागुन १७ गते राती आफ्नै घरमा रमिलाको हत्या गरेर आफ्नै गाडीमा कोशी ब्यारेजमा लगेर शव फालेका थिए । हत्याको २६ दिनपछि रमिलाको शव बोराभित्र भेटिएको थियो । परिवारले रमिलाको दाहसंस्कार गरिसकेका छन् ।
प्रहरीले योगेन्द्रलाई कर्तव्य ज्यानमा अनुसन्धान समेत पूरा गरेर सरकारी वकिलको कार्यालयमा मङ्गलबार मिसिल बुझाएको छ । यता, स्थानीय बासिन्दा र रमिलाका आफन्तले भने शवको प्रकृति हेर्दा उनको हत्यामा अरु पनि संलग्न रहेको आशङ्का गरिरहेका छन् । अन्य व्यक्तिको संलग्नता रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।