प्रकाशपुरः सप्तकोशी नदी उकासमा रहेको जग्गामा चाक्लाबन्दी कृषि गर्ने नाममा अतिक्रमण भएको विषयमा सप्तकोशी नदीले छुने सुनसरी, सप्तरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले चासो दिएका छन् । निरन्तर कोशी टप्पु र सप्तकोशी नदी आसपासका जमिनहरू सामुहिक र राजनीतिक आवरणमा अतिक्रमण हुन थालेपछि सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरूले चासो दिएका हुन् ।

वराहक्षेत्र नगरपालिकाको श्रीलङ्का टापुमा कृषिको नाममा भएको अतिक्रमण भएको २ सय ३० बिघा जमिनको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारीले तत्काल विवाद समाधान गर्न नगरपालिकालाई आग्रह गरेका छन् । जग्गा कब्जाको विषयमा बन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका प्रमुखहरूले चासो देखाएसँगै सिडिओहरूले तत्काल समस्या समाधानको लागि सम्बन्धित नगरपालिकाहरूलाई आग्रह गरेका हुन् ।

गत बुधबार सप्तरीमा भूमिहीनहरूलाई बसोबास गर्न गोबरगाडा र आसपासका क्षेत्रमा आरक्ष मध्यवर्ती क्षेत्रमा रहेको ऐलानी जग्गा कब्जा गर्न मानिसहरू भेला भएका थिए । नेशनल मङ्गोल अर्गनाइजेशन नामक दलले मेचीदेखि महाकालीसम्मका व्यक्तिहरूलाई भेला पारेर जग्गा दिलाउने आश्वासन दिँदै कोशी टप्पु क्षेत्रमा ल्याएको थियो । तत्काल प्रहरीले हस्तक्षेप गरेपछि भीड पछि सरे पनि सो भीडमा संलग्न सदस्य भने अझै पनि सप्तरीमा नै बस्दै आएका छन् ।

सुनसरी र सप्तरीमामात्र होइन उदयपुरको कोशी उकास र कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र र प्रस्तावित आरक्षको भूमिमा अतिक्रमण भएसँगै उदयपुरमा सतर्कता बढेको छ । बेलका नगरपालिकाले कोशी क्षेत्रमा प्रभाव मूल्याङ्कनबिना शुरु गरेको प्रदेशस्तरीय बृहत चक्लाबन्दी कृषि परियोजनाको नाममा ऐलानी जग्गाहरू अनाधिकृत तरिकाले कब्जा हुन थालेपछि सिडिओहरूले चासो दिएका हुन् ।

‘वराहक्षेत्र नगर प्रमुखसँँग कुरा भएको छ । समस्या समाधान गर्न बेलका र वराहक्षेत्र नगरपालिकाहरूको प्रतिनिधिको संयुक्त समिति बनेको रहेछ’, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भने, ‘त्यो सरकारी ऐलानी जग्गा हो नगरपालिकाको संरक्षण गर्ने जिम्मेवारी हो । जग्गाको हक हस्तान्तरण सङ्घीय सरकारले मात्र गर्न सक्दछ । त्यसको जानकारी हामीले गराइसकेका छौँ ।’

बुधबारको सप्तरीको घटनापछि बिहीबार सुनसरीको श्रीलङ्का टापुमा कृषिको नाममा जग्गा खनजोत गर्दै आएको समूह र वराहक्षेत्र–९ का वडाध्यक्ष दीपक लिम्बूबीच ठेलमठेलसमेत भएको थियो । अनुगमन गर्न गएका जनप्रतिनिधिहरूसँग भएको विवादपछि अतिक्रमणको विषय बाहिर आएको हो ।

वराहक्षेत्र नगरपालिकाको क्षेत्रभित्र पर्ने ऐलानी जग्गामा बेलका नगरपालिकाले काम गर्न अनुमति दिएको विषयमा उठेको सीमा विवादसँगै अतिक्रमण भएको विषय जनप्रतिनिधिहरूले नै बाहिर ल्याएका थिए । बेलका नगरपालिकाको पत्र देखाउँदै गैरकानुनी तरिकाले जग्गा कब्जा गर्न थालेपछि वराहक्षेत्र नगर क्षेत्रभित्र बस्ने स्थानीयहरूले वडाध्यक्षसँग गुनासो गरेपछि अतिक्रमणको विषय बाहिर आएको थियो ।