झापाः झापामा चालु आर्थिक वर्ष २०७५÷०७६ को चैत १७ गतेसम्मको साढे ८ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा ५९ जनाको मृत्यु भएको छ । सो अवधिमा जिल्लामा १ सय ६१ वटा दुर्घटनामा भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको शुरुवाती महिना साउनदेखि चैत १७ गतेसम्म भएका सवारी दुर्घटनामा परेर ५२ पुरुष, ६ महिला र १ जना बालकको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी नायब निरीक्षक सई कालीदास रेग्मीले बताए ।

ती दुघर्टनामा परेर १ सय २२ जना गम्भीर घाइते भएका छन् भने ७२ जना सामान्य घाइते भएका छन् । धेरै दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेका छन् । हरेक आर्थिक वर्षको तथ्याङ्कमा मोटरसाइकलको दुर्घटना सङ्ख्या बढिरहेको रेग्मीले जानकारी दिए ।

उनका अनुसार सवारी साधन दुर्घटना बढ्नुको मुख्य कारण प्रतिस्पर्धा नै हो । साथै क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गति र मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनाले पनि दुर्घटना बढेको छ । जानी जानी ट्राफिक नियम उल्लङ्घन गर्दासमेत दुर्घटना बढेको रेग्मीको भनाइ छ ।