धनकुटाः धनकुटाको चौबिसे र तेह्रथुमको छथर गाउँपालिका जोड्न तमोर नदीमा झोलुङ्गे पुल बन्ने भएको छ ।
झोलुङ्गे पुल महाशाखाको २ करोड रुपैयाँको लागतमा चौबिसे–४ फलामेटर र छथर गाउँपालिका–३ लुकुवा जोड्न ३ सय ३ मिटर लामो झोलुङ्गे पुल बन्न लागेको हो । सो पुलको धनकुटाका प्रदेशसभा सदस्य निरन राई, पूर्व सभासद् हेमराज भण्डारी तथा धनकुटाको चौबिसे र तेह्रथुमको छथर गाउँपालिका अध्यक्षद्वयले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
पुलको ठेक्का प्रक्रिया पुरा भइसकेको बताइएको छ । काठमाडौंको थानी निर्माण सेवा प्रालिले आगामी १८ महिनाभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने भएको छ । पुल निर्माणपछि तेह्रथुमको छथर गाउँपालिकाका बासिन्दा तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको तमोर करिडोरसँग समेत जोडिनेछन् यो मार्गसँग जोडिएपछि तराई र धनकुटासम्म पुग्न आधा भन्दा बढी दूरी कम हुने धनकुटाका पूर्व सभासद् हेमराज भण्डारीले जनाए ।
पुल नहुँदा सो स्थानका बासिन्दा काठ खोपेर निर्माण गरिएको डुङ्गाबाट जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य थिए । हिउँदको समयमा जसोतसो डुङ्गाबाट ओहोरदोहोर गर्ने गरे पनि बर्खाको समयमा भने आवतजावत बन्द हुने गरेको स्थानीय महेन्द्र न्यौपानेले बताए ।