बेलबारीः बेलबारी–४ की २६ वर्षीया रमिला राईको हत्या संलग्न सोही वडाका योगेन्द्र गुरुङ जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाको इजलासले आज गुरुङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न दफा ८० बमोजिमको थुनुवा पूर्जी दिएको छ । अदालतको आदेशपछि गुरुङलाई शुक्रबार नै जिल्ला कारागार मोरङ चलान गरीएको छ । न्यायाधीशहरू बारको अधिवेशननमा काठमाडौं गएको समयमा स्रेस्तेदार ओझाले थुनछेकको आदेश दिएका हुन् । उक्त आदेशमा जिल्ला न्यायाधीश आएपछि आदालतको नियमावली, २०७५ को नियम १० (४) बमोजिम पुनर्विचारको लागि इजलासमा पेश गरिने बताइएको छ ।
गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीले २३ दिनसम्म अनुसन्धान गरेर मङ्गलबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा मिसिल बुझाएको थियो । शुक्रबार गुरुङलाई ‘कर्तव्य ज्यान’ मा मुद्दा दर्ता भएको मोरङ अदालतले जनाएको छ ।
प्रेमिकाले विवाह गर्न दबाब दिन थालेपछि आफ्नो प्रतिष्ठा बचाउनका लागि उनले हत्या गरेको खुलेको छ । राजनीति र सामाजिक जीवनमा राम्रो छवि बनाएका गुरुङका श्रीमती र २ छोरा छन् । विवाह गर्ने पक्षमा नरहेका गुरुङलाई रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि हल्ला हुने डरले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । योगेन्द्रले फागुन १७ गते राती आफ्नै घरमा रमिलाको हत्या गरेर आफ्नै गाडीमा कोशी ब्यारेजमा लगेर शव फालेका थिए । हत्याको २६ दिनपछि रमिलाको शव बोराभित्र भेटिएको थियो ।