इटहरीः हालै जारी भएको मुलुकी अपराध संहिता, २०७४ का केही प्रावधानले प्रेसमाथि अंकुश लगाएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन गर्ने भएको छ ।
महासंघले भदौ २२ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । भदौ १ गते जारी भएको मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता) ऐन २०७४ का सयभन्दा धेरै प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघको ठहर छ ।
आन्दोलनको कार्यतालिका
१. भदौ १२ गतेसम्म केन्द्र प्रदेश समिति र जिल्ला शाखाले संहिताका बुँदा संशोधनका लागि महासंघका पूर्वसभापति÷पूर्वअध्यक्ष, सम्पादक, मिडिया सञ्चालक, पत्रकारिता पेशासँग सम्बन्धित विभिन्न संघसंगठन, बार एसोसिएसन कानुन व्यवसायीलगायत सरोकारवालासँग बृहत छलफल गर्ने । विभिन्न सञ्चारमाध्यमबाट संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध सञ्चार अभियान चलाउने ।
२. भदौ १४ गतेसम्म छलफलबाट प्राप्त सुझावका आधारमा मुलुकी संहितामा देखिएका असहमतिका बुँदा तयार पार्ने ।
३. भदौ १६ गते सबै प्रदेशमा मुलुकी संहिताका असहमतिका बुँदामाथि प्रदेशस्तरीय बृहत्त अन्तरक्रिया गर्ने ।
४. भदौ २० गते केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाउने । केन्द्रमा सञ्चार र कानुन मन्त्रालय, प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने ।
५. भदौ २१ गते संघीय संसदमा रहेका सबै राजनीतिक दल र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउने ।
६. भदौ २२ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बाहिर सञ्चार साधनसहित साङ्केतिक विरोध प्रदर्शन गर्ने ।
महासंघले भदौ १ देखि लागु भएको संहिताले संविधानकै धज्जी उडाएकाले पहिलो चरणमा दबाबमूलक कार्यक्रमको घोषणा गरेको उल्लेख गरेको छ ।
के छ संहितामा ?
आमसञ्चारको कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भङ्ग गरे वा त्यसबाट कसैको गाली–बेइज्जती भएको ठहर भए पत्रकार, सम्पादक र प्रकाशकलाई ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था संहितामा छ ।
त्यस्तै, गोपनीयताको हकसम्बन्धी दफा २९१ मा ‘अर्काको कुरा सुन्न वा ध्वनि रेकर्ड गर्न नहुने’ उल्लेख छ भने दफा २९३ मा ‘अनुमतिविना कुनै व्यक्तिको तस्बीर खिच्न नहुने’ उल्लेख छ । त्यस्तै, दफा २९५ मा ‘चिठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने’ व्यवस्था छ ।
यीलगायतका धेरै प्रावधान प्रेसमैत्री नभएको र यसले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता हनन गरेको महासंघको ठहर छ ।