दुहबीः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कामले नै मानिसलाई स्थापित र विस्थापित गराउने जनाएका छन् । दुहबीमा हिजो ३ महिने निशुल्क ब्रिक लेयर, मेसन, टेलरिङ, इसिडिएफ तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पण्डितले तराई मधेस समृद्धि योजना अन्तर्गत सुनसरीमा १० करोड भन्दा बढी बजेट विनियोजन गरिएकाले दुहबीलाइ समृद्ध बनाउनका लागि लगत इस्टिमेटसहित प्रस्ताव पेश गर्न दुहबी नगर प्रमुखलाई अनुरोध गरे । मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगाका प्रचार्य डा. सुवासश्री पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक गोवन्द गजुरेलले सीपमूलक तालिमको महत्वको बारेमा जानकारी दिएका थिए । प्राचार्य डा.सुवासश्री पोखरेलले फिजिकल फिटनेस सेन्टरका लागि दुहबी नगरपालिकाले दुहबी रङ्गशालाको छेउमा ५ कठ्ठा जग्गा प्रतिष्ठानलाई उपलब्ध गराएको बताए ।
दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले आर्थिक समृद्धिका लागि प्रविधियुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । सरकारको वार्षिक कार्यक्रममार्फत् व्यावसायिक तालीम परिषद (सीटीईभीटी) को सहयोगमा मनमोहन स्मृति पोलिटेक्निकद्वारा सञ्चालित तालीमको संयोजन दुहबी नगरपालिकाले गरेको छ ।