इटहरीः धितोपत्र बोर्डले डिम्याट प्रणालीबाट मात्रै सेयर कारोबार गर्ने व्यवस्था लागू गरेपछि कागजी प्रमाणपत्र छाप्ने र खरिदबिक्री हुने प्रवृत्ति रोकिए पनि कागजी प्रमाणपत्र भएकाले अझै पनि डिम्याट नगराएको पाइएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कागजी प्रमाणपत्र डिम्याट हुने क्रम जारी छ । अहिलेसम्म ३ अर्ब ७८ करोड ४५ लाख ५२ हजार २ सय १० कित्ता भौतिक प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) भइसकेका छन् । कुल १३ लाख ११ हजार ४ सय २३ जनाले डिम्याट खाता खोलेका छन् ।
धितोपत्र बोर्डले १ जना व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था गरेकाले खाता खोल्नेको यकिन सङ्ख्या भने पत्ता लगाउन गाह्रो भएको बताइएको छ ।
ग्रामीण क्षेत्रका र साना लगानीकर्ताले भौतिक प्रमाणपत्र अभौतिक गर्न बाँकी रहेको अनुमान सम्बद्ध पक्षको छ । धितोपत्र बोर्डले भौतिक प्रमाणपत्र बोक्नेलाई केही समय भौतिक प्रमाणपत्रमै कारोबार गर्न दिने अवधारणा बनाए पनि कार्यान्वयनमा भने आएको छैन ।