लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ दार्जेलिङ लाइनकी एक ज्येष्ठ महिलालाई कुटपिट गरेको घटना १ हप्तापछि सार्वजनिक भएको छ ।
७० वर्षीया भीमा रसाइलीलाई छिमेकीहरूले दलितसँग माफी पनि माग्दैनौं, उपचार पनि गर्दैनौं भनेपछि घटना सार्वजनिक भएको हो । एक छिमेकी बालकलाई कुटेको भन्दै छिमेकी ५० वर्षीय तारा श्रेष्ठ र २७ वर्षीया रेनुका श्रेष्ठले आमालाई मरणासन्न हुने गरी कुटपिट गरेको छोरी भीमाकी छोरी अप्सरा शाह शङ्करले बताइन् ।
‘दाजुका छोराछोरीसँग छिमेकीका बच्चा आएर खेल्ने गर्थे’, अप्सराले भनिन्, ‘आमाले उनीहरूलाई घर पठाउनुभएछ । केही बेरमा श्रेष्ठका आमाछोरी आएर नानीलाई किन कुटिस् भन्दै आमालाई कुटेछन् ।’
कुटपिटबाट आमाको आँखा, टाउको र पेटमा चोट लागेको अप्सराले बताइन् । गाउँका केही मानिसले मिल्नुपर्छ भनेपछि इलाका प्रहरी कार्यालयमा मिलापत्रका लागि जाँदा कुटपिट गर्ने आमाछोरीले नै दलितसँग माफी पनि नमाग्ने र उपचार पनि नगर्ने भनेको अप्सराले बताइन् ।
कुटपिटबाट घाइते भीमको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । कुटपिटमा संलग्न आमाछोरीविरुद्ध म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर दीपक कट्वालले बताए ।