धरानः धरान उपमहानगरपालिकाको आयोजनामा धरानमा किशोरीहरूलाई आत्मरक्षा तालीम दिन थालिएको छ । बालबालिका तथा किशोरीहरूमाथि हुने यौनजन्य हिंसा नियन्त्रण गर्न आत्मरक्षा तालीमको आयोजना गरिएको धरान उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
पहिलो चरणको तालीममा १२ वर्षीयादेखि १९ वर्षीया किशोरीलाई आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने भन्नेबारे तालिम दिन थालिएको उनले बताए । ‘पहिलो चरणमा १ सय जनालाई हामीले तालीम दिइरहेका छौँ’, खतिवडाले भने, ‘यो तालीम सकिएपछि थप कार्यक्रम गर्दै जानेछौँ ।’ कार्यक्रमकी संयोजक हेमा थलङका अनुसार तालीममा किशोरीहरूलाई आत्मरक्षाबारे पूर्ण जानकारी दिइने छ ।
थलङका अनुसार दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन पनि यस्तो तालीमले सहयोग पुग्ने विश्वास उपमहानगरको छ । ‘साना बालिकादेखि किशोरीसम्म बलात्कार हुने गरेका घटना बढ्दो छ, उनले भनिन्, ‘यस्तो तालीम लिएपछि किशोरीमा सचेतना आउँछ भन्ने हामीले महसुस गरेका छौं ।’ अहिले आत्मरक्षा तालीमसँगै जीवनउपयोगी सीप, लैङ्गिक हिंसा, लागूऔषध समस्या, व्यक्तित्व विकास र प्रजनन स्वास्थ्यबारे पनि प्रशिक्षण दिइनेछ ।
५ दिने तालीममा २० वटै वडाका किशोरी सहभागी छन् । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाइने तेक्वान्दो प्रशिक्षक गोपाल राईले बताए । ‘महिला हिंसा न्यूनीकरण गर्न खेलकुद उत्तम विकल्प नै हो,’ उनले भने, ‘तालीममा सामाजिक तथा शारीरिक घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न जानकारीमूलक खेल सिकाइनेछ ।’
आफू कुनै समस्यामा परे आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण पनि दिइने प्रशिक्षक राई बताउँछन् ।आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन् परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ जस्ता विषयमा पनि तालीम प्रदान गरिने कार्यक्रम संयोजक थलङले जानकारी दिइन् ।
उनका अनुसार इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिना, महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, मनोसामाजिक परामर्शदातालगायतले लैङ्गिक हिंसा, लागूऔषध समस्या, व्यक्तित्व विकास, प्रजनन स्वास्थ्य, किशोरीमा हुने परिवर्तन, यौन हिंसा जस्ता विषयमा किशोरीहरूलाई प्रशिक्षित गराउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी किशोरी अप्सरा खत्रीले तालीम निकै महत्वपूर्ण र उपलब्धिपूर्ण भएको बताइन् । उनले यस्तो तालीम प्रत्येक विद्यालयमा दिने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग पनि गरेकी छिन् । तालीम धरान–१० स्थित कभर्ड हलमा भइरहेको छ ।