इटहरीः राजधानी बाहिरबाट प्रकाशित पहिलो रङ्गीन ब्रोडसिट दैनिक ब्लाष्ट टाइम्सको सम्पादकीय डेस्कमा रहेका राजेश विद्रोही मङ्गलबार प्रदेश पोर्टल डट कमका प्रधान सम्पादक नियुक्त भएका छन् ।
विद्रोहीलाई इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिका अध्यक्ष जीवन पराजुलीले मङ्गलबार नियुक्तिपत्र दिएका छन् ।
डेढ दशकसम्म ब्लाष्ट टाइम्स दैनिकमा सहसम्पादकदेखि कार्यकारी सम्पादकको जिम्मेवारी निर्वाह गरेका विद्रोहीले केही महिनाअघि सो दैनिकबाट राजीनामा दिएका थिए । पत्रकारिता र प्राध्यापन सँगसँगै गर्दै आएका विद्रोहीको ‘बधशालाका तस्बिरहरू’ नामक एक कथा सङ्ग्रह पनि प्रकाशित छ ।
पूर्वमा सबैभन्दा धेरै वितरण हुने पत्रिका ब्लाष्ट टाइम्समा विद्रोही स्थापना कालदेखि नै जोडिएका थिए । उनी १ कार्यकाल पत्रकार महासंघ सुनसरीको उपाध्यक्ष र १ कार्याकाल अध्यक्ष पनि भएका थिए । छापा माध्यममा २३ वर्षको अनुभव बटुलेका विद्रोही पहिलो पटक न्यू मिडियामा प्रधान सम्पादकको रूपमा आबद्ध भएका हुन् ।
विद्रोहीजस्तो प्रदेशका एक वरिष्ठ छापा सम्पादकलाई न्यू मिडियामा प्रधान सम्पादकको रूपमा नियुक्त गर्न पाउनु सुखद खबर भएको प्रालिका अध्यक्ष पराजुलीले बताए ।
उनले भने, ‘केही हजारमा अनलाइन दर्ता गरेर आफैं सम्पादक बन्ने र आफ्ना मौलिक समाचारभन्दा कपिपेष्ट पत्रकारिता फस्टाएको बेला प्रिन्ट मिडियाका एक हस्ती अनलाइनको सम्पादकको रूपमा पाउनु अनलाइन पत्रकारिताको विश्वसनीयता र व्यवसायिकताको लागि राम्रो खबर हो ।’
हाल सामान्य अपडेट मात्रै भएको प्रदेश पोर्टल अनलाइनमा प्रधान सम्पादक विद्रोही आएपछि प्रदेश १ को प्रादेशिक समाचार क्षेत्रमा धेरै नयाँ आशा बढेको पराजुलीले बताए ।
नवनियुक्त प्रधान सम्पादक विद्रोहीले आफुले प्रिन्ट मिडियामा पाएको अनुभवलाई न्यू मिडियामा जोड्ने बताए । उनले भने, ‘प्रदेशकेन्द्रित समाचारहरू प्रकाशन गरेर समाचारमा प्रादेशिक पत्रकारिताको अभ्यास गर्न म प्रदेश पोर्टलमा जोडिएको हुँ ।’
केही हप्ता अगाडिबाट सामान्य अपडेट हुँदै आएको प्रदेश पोर्टल डट कम असोज दोस्रो हप्ताबाट औपचारिक रूपमा शुभारम्भ हुने पराजुलीले बताए ।